भक्तपुरको मध्यपुर थिमि नगरपालिकको दथुला टोलका स्थानीयबासीले टोलमा चोरी, डकैतीलगायतका अपराधिक घटना नियन्त्रणका लागि अनौठो उपाय अपनाउने गरेका छन् ।
स्थानीयले टोलमा चोरी, डकैटी जस्ता घटनाहरु हुन नदिनका लागि टोलभरिका घरघरमा सिट्ठी राख्ने गरेका छन् ।
मध्यपुर थिमि नगरपालिका वडा नं ६ दथुला टोलकी स्थानीय लक्ष्मीशोभा प्रजापतिले यसको सुरुवात आफैंले गरेको सुनाइन् । ‘सुरुमा मैले टोलको एउटा परिवारलाई एउटाएउटा सिठ्ठी मेरो व्यक्तिगत पैसाबाट किनेर निःशुल्क वितरण गरे, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मध्यपुर थिमि नगरपालिका वडा नं ६ तथा प्रहरी वृत्त थिमिको संयुक्त आयोजनामा चोरी, लुटपाट तथा अनलाइन ठगी नियन्त्रण सम्वन्धी शुक्रबार वडामा भएको सार्वजनिक नागरिक सुनुवाइ कार्यक्रममा प्रजापतिले भनिन्, ‘पछि टोलभरिको परिवारलाई परिवारका प्रत्येक सदस्यलाई एउटाएउटा पुग्ने गरी सिठी खरिद गर्न अनुरोध गरे ।’
चोरी नियन्त्रणमा सहयोगका लागि मध्यपुर थिमि नगरपालिकाले थप सिसी टिभीको जडानमा निरन्तरता बढाउँदै लान उनले अनुरोध गरे ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष ज्ञानदास प्रजापतिले चोरी डकैतीलगायतका समस्याबाट वडाबासीलाई मुक्ति दिलाउन कार्यक्रम गरेको स्पष्ट पारे । कार्यक्रमको क्रममा वडाबासीसँग प्रहरीले अन्तर्क्रियासमेत गरेको थियो । वडाबासीले उठाएका विभिन्न विषयमा डिएसपी ढुंगानाले जवाफ दिएका थिए ।
प्रकाशित: ४ पुस २०८२ १८:११ शुक्रबार