पर्साको ठोरी गाउँपालिका-४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ। पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले आज विहान ७ः३० बजे आसपासमा ठोरीको मालीवस्तीस्थित हुलाकी सडकभन्दा झन्डै ५०० मिटर दक्षिणतर्फ पाटेबाघ मृत अवस्थामा भेटिएको बताए।
“ठोरीका स्थानीयले पाटेबाघ मृत अवस्थामा भेटिएको सूचना दिएपछि प्रहरी चौकी विजयबस्तीबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको कमाण्डमा टोली खटिएकाे छ, अहिले अनुसन्धान भइरहेको छ”, उनले भने, “पर्सा राष्ट्रिय निकुञ्ज आधारभार र नेपाली सबुज गणको टोली पनि आवश्यक अनुसन्धानका लागि गएको जानकारी प्राप्त भएको छ।”
पर्सा प्रहरीका अनुसार प्रहरीचौकीबाट सो स्थान चार किलोमिटर दुरीमा पर्छ। पर्सा राष्ट्रिय निकुञ्जका रेञ्जर जयराम न्यौपानेले मृत भेटिएको पाटेबाघको मुचुल्का बनाएर शव परीक्षणका लागि निकुञ्ज ल्याइएको बताए।
“पाटेबाघको बाहिरी भागमा सामान्य चोटपटक देखिएको छ भन्ने सुनिएको छ। बाघ जुधेर हो वा अन्य के कारणले चोटपटक लागेको हो भन्नेबारे शव परीक्षणपछि नै थप जानकारी प्राप्त हुनेछ”, उनले भने।
प्रकाशित: २५ श्रावण २०८२ ११:२३ आइतबार