कपिलवस्तुमा भैँसी चराउन गएका एक किशोर नदीमा डुबेर बेपत्ता भएका छन्।
कपिलवस्तु नगरपालिका-३ निवासी दयाल चौहानका १४ वर्षीय छोरा मोहन चौहान सोमबार दिउँसो रामघाट नदीमा बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डिएसपी) रिपेन्द्र कुमार सिंहका अनुसार, स्थानीयले खबर गरेपछि सोमबार सवा ५ बजेतिर सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो।
सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले नदीमा किशोरको खोजी कार्य थालेको थियो। करिब दुई घण्टाभन्दा बढी समय खोजी गर्दा पनि उनलाई फेला पार्न नसकिएको डिएसपी सिंहले जानकारी दए।
प्रहरीले घटनास्थलबाट किशोरले प्रयोग गर्ने चप्पल र लठ्ठी भने फेला पारेको छ।
सोमबार साँझ परेपछि खोजी कार्य स्थगित गरिएको थियो। मंगलबार बिहानैदेखि पुनः खोजी कार्य सुरु गरिने प्रहरीले जनाएको छ।
प्रकाशित: ९ भाद्र २०८२ २१:१९ सोमबार