समाज

अख्तियारको विशेष टोलीले निकोसेरामा गाडी रोकेर जाँच गर्दा ३३ लाख रुपैयाँ बरामद

३३ लाख रुपैयाँ घुस लिएको आरोपमा भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेसहित चार जना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले उनीहरूलाई सोमबार मध्यपुर थिमि नगरपालिका–९ स्थित निकोसेराबाट पक्राउ गरेको हो।

नगरपालिकाबाट बाहिरिएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा ईभी कारलाई अख्तियारको टोलीले निकोसेरास्थित अजिमा पेट्रोल पम्पनजिक रोकेर जाँच गरेको थियो। प्रत्यक्षदर्शीका अनुसार दुईवटा मोटरसाइकल र एउटा गाडीमा आएका अख्तियारका कर्मचारीले उक्त कारलाई पछ्याउँदै ओभरटेक गरेर रोकेका थिए।

त्यसपछि गाडीमा जाँच गर्दा ३३ लाख रुपैयाँ फेला परेको थियो। अख्तियारको टोलीले बरामद रकम सडक किनारमा राखेर जाँच तथा मुचुल्का तयार गरेको थियो। यस प्रक्रियामा घण्टौँ लागेको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनाबारे प्रहरीले सोमबार रातिसम्म आधिकारिक जानकारी सार्वजनिक गरेको थिएन। पक्राउ परेका अन्य तीन जनाको पहिचान तथा बरामद रकमको स्रोतबारे पनि विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: १६ कार्तिक २०८३ २१:२९ सोमबार