शान्ति सुरक्षाका हिसाबले संवेदनशील मानिने गरेको सुनसरी झुम्का कारागारबाट एक जना कैदी फरार भएका छन् ।
जबरजस्ती करणी मुद्दामा एक वर्षदेखि सजाय भुक्तानी गरिरहेका खोटाङको दिप्रुङ चुईचुम्पा गाउँपालिका वडा नं. २ का २८ वर्षीय रूपक पौडेल खत्री कारागारको १६ फिट उचाइको पर्खाल नाघेर भागेका हुन् ।
उनी मंगलबार नै भागे पनि घटना भने बुधबार मात्र सार्वजनिक भएको हो । खत्री कारागारको ब्लक बिमा रहेको मुढा बनाउने उद्योग नजिकैबाट बासको साहराले पर्खाल नाघेर भागेको प्रहरीले जनायो । कारागारको सुरक्षा पछिल्लो समय सशस्त्र प्रहरीले गर्दै आएको छ ।
घटनाको छानबिन गर्नका लागि सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको डिएसपी, राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक तथा झुम्का कारागारका नायब सुब्बा रहने गरी समिति बनाइको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । उनका अनुसार छानबिन गर्नका लागि सात दिने समय सीमा तोकिएको छ ।
झुम्का कारागारबाट २०६९ कार्त्तिक २३ गते प्रहरी–प्रशासनको लापरबाहीले गर्दा १२ जना कैदी–बन्दी सुरुङ खनेर भागेका थिए । त्यति बेला कारागारभित्र फर्निचरको सामान बनाउन र ढाका टोपी बन्नुका लागि आवश्यक हतियार दिएको फाइदा उठाएर कैदी बन्दीले झन्डै ८० फिट लामो सुरुङ खनी डियूटीमा खटिएका प्रहरीको आँखा छलेर भागेका थिए । त्यसयता सम्भावित घटना नियन्त्रण गर्न प्रहरी–प्रशासनले हाइअर्लटमा रहेर निगरानी गरिरहेको झुम्का कारागारबाट १३ वर्षपछि एक जना कैदी सहज भाग्न सफल भएका हुन् । यस आधारमा हेर्दा झुम्कामा सबैभन्दा शान्त भएको दाबी गरी रहेका बेला सुरक्षा चुनौतीको खतरा रहेको ठहर गर्न सकिन्छ ।
प्रकाशित: २८ श्रावण २०८२ १७:२९ बुधबार