हिमाली जिल्ला मनाङको अत्यन्त विकट मानिने नार्पाभूमि गाउँपालिका–४ स्थित याकखर्कमा लेक लागेर एक जना भरियाको मृत्यु भएको छ भने सोही स्थानमा अर्का एक व्यक्ति पनि गम्भीर बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार लम्जुङको क्व्होलासोथार गाउँपालिका–४ निवासी अन्दाजी ४८ वर्षीय दिलबहादुर गुरुङको लेक लागेर मृत्यु भएको हो।
गुरुङ लेक लागेर सिकिस्त भएको खबर प्राप्त भएलगत्तै उद्धारको प्रयास थालिएको थियो। एयर डाइनेस्टीको हेलिकप्टरमार्फत गुरुङको उद्धार गरी उपचारका लागि पोखरा स्थित मनिपाल अस्पतालमा पठाइएको थियो।
यद्यपि, अस्पताल पुर्याइएका गुरुङलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए। मृतक गुरुङ भारी बोक्ने कामको सिलसिलामा उक्त उच्च हिमाली क्षेत्रमा पुगेका थिए।
अर्का एक बिरामी, खराब मौसमले उद्धारमा कठिनाइ
यसैबीच, सोही याकखर्क क्षेत्रमा अर्का एक व्यक्ति पनि लेक लागेर गम्भीर बिरामी परेको खबर आएको छ। उनको पहिचान खुलिसकेको छैन।
बिरामीको अवस्थाबारे आधिकारिक जानकारी आइनसके पनि उनको उद्धारका लागि हेलिकप्टर पठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
तर, त्यस क्षेत्रको मौसम अत्यन्त खराब रहेकाले हेलिकप्टर उड्न सकेको छैन। घटनास्थल नार्पाभूमिको याकखर्क अत्यन्तै विकट र दुर्गम क्षेत्रमा पर्दछ।
नजिकैको प्रहरी चौकीबाट त्यहाँ पुग्न करिब ११ देखि १२ घण्टासम्म पैदल हिँड्नुपर्ने हुन्छ। कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण तत्काल स्थलमार्गबाट प्रहरी टोली घटनास्थल पुग्न सक्ने अवस्था छैन। प्रहरीले भोलि बिहानै पैदल टोली पठाउने तयारी गरेको छ।
दुर्गम भूगोल र सञ्चार सम्पर्कको अभावले गर्दा त्यस क्षेत्रमा यस्ता घटना हुँदा तत्काल उद्धार र उपचारमा कठिनाइ हुने गरेको छ।
प्रकाशित: ८ कार्तिक २०८२ १५:२४ शनिबार



