खोटाङ सदरमुकाम दिक्तेल बजारस्थित भानुचोकमा स्थापित आदिकवि भानुभक्त आचार्यको शालिक पुननिर्माण गरेर नयाँ राख्ने तयारी भईरहेको छ । लामो समयदेखि मर्मतसंभार नहुँदा जीर्ण भएको शालिकको ठाउँमा सुरक्षित ठाउँमा नयाँ शालिक पुननिर्माण गरिने भएको हो ।
प्रदेश सरकार, भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले चालु आर्थिकवर्ष दिक्तेल बजारको सौन्दर्यकरण शीर्षकमा छुट्याईदिएको १ करोड बजेटबाट बजार व्यवस्थित, सुरक्षित र सुन्दर बनाउने क्रममा भानुभक्तको शालिक पनि पुननिर्माण गर्ने कार्यक्रम समेटिएको हो । पूर्वाधार विकास कार्यालय दिक्तेलले बजार सौन्दर्यकरण कार्यक्रमभित्र शालिक पुननिर्माण पनि राखिको जनाएको छ ।
पूर्वाधार कार्यालय प्रमुख (डिई) बिनम दाहालले पहिलाको ठाउँभन्दा केही टाढा सुरक्षित र व्यवस्थित ठाउँमा आचार्यको शालिक पुननिर्माण गरिने बताए । हाल नेपाल टेलिकमको कार्यालयअगाडि रहेको शालिक सडक बीचमा परेकाले दुर्घटनाको जोखिम बढेको भन्दै अन्यत्र सार्न लागिएको उनले बताए ।
शालिक पुननिर्माणलगायत बजार सौन्दर्यकरणका लागि ठेक्का लागेर काम अघि बढिसकेको दाहालले बताए । बजारको समग्र सौन्दर्यकरण कार्यक्रमअन्तर्गत शालिक पुननिर्माण कार्य पनि परेको र त्यसका लागि टेन्डर लागेर काम सुरु भईसकेको छ ।
‘शालिक पहिलाको भन्दा आधुनिक शैलीमा निर्माण गर्नेगरि डिजाईन गरिएको छ’ डिई दाहालले भने ‘पहिला बीच सडकमा भएकाले दुर्घटनाको जोखिम बढेको भन्दै केही व्यक्तिबाट गुनासो आएकाले अहिलेको ठाउँभन्दा केही पर सारेर पुननिर्माण गरिनेछ ।’ शालिक पुननिर्माणसहित बजार सौन्दर्यकरण गर्ने ठेक्का सुवेदी कन्स्ट्रक्सन निर्माण सेवाले पाएर काम थालिसकेको उनले बताए ।
नयाँ योजना अनुरुप साविकको भानुचोक, जिल्ला प्रहरी कार्यालय गेट हुँदै लोकसेवा आयोग कार्यालयदेखि नेपाली काँग्रेस पार्टी कार्यालयसम्म सडक स्तरोन्नति हुनेछ । दिक्तेल बजार व्यवस्थित र सुन्दर बनाउने योजनाअन्तर्गत भानुचोकसहित दिक्तेल बजार व्यवस्थापन तथा सौन्दर्यकरण गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ भित्रका केही सडकहरुसमेत स्तरोन्नतिमा पर्नेछन् ।
प्रकाशित: ५ पुस २०८२ १९:२८ शनिबार



