समाज

बाग्मती शुद्ध गर्न बृहत् पाशुपत क्षेत्र पदयात्रा गरिने

विगत साढे चार दशकदेखि प्रदूषित बन्दै गएको बाग्मती नदीलाई शुद्ध बनाई बाग्मतीको जलले पशुपतिनाथलाई स्नान गराउन ‘बृहत् पाशुपत क्षेत्र पदयात्रा’ गर्ने तयारी भएको छ।

शनिबार आयोजित पत्रकार साक्षात्कार एवं प्राज्ञिक उद्बोधन कार्यक्रममा आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवम् पवित्र बाग्मती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) गर्न लागिएको जानकारी दिइएको हो।

पशुपतिनाथ, पाशुपतक्षेत्र तथा बाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने पदयात्राको मुख्य उद्देश्य रहेको महेश सन्न्यास आश्रमका पीठाधीश एवम् महेश संस्कृत गुरुकुलम्का अध्यक्ष स्वामी रमणानन्द गिरिले जानकारी दिए।

उनका अनुसार बाग्मती नदी प्रदूषित भएकामा भगवान् पशुपतिनाथ एवं बाग्मतीप्रति क्षमायाचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गर्न लागिएको हो। स्वामी गिरिको सत्सङ्कल्पमा पदयात्रा गर्न लागिएको जनाइएको छ।

आगामी चैत १५ गते पशुपति शङ्कराचार्यमठमा बृहत् पशुपति यात्राको समुद्घाटन गरिने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।

सोहीदिन पशुपतिपूजन तथा बाग्मती गङ्गाको विशेष आरती गरिने छ। चैत १६ गते पशुपति क्षेत्रबाट आदिलिङ्ग कुशेश्वरतर्फ यात्रा गरिने छ। पाशुपत पदयात्राको शुभारम्भ आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट हुने स्वामी गिरिले बताए।  

कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुरलगायत क्षेत्रमा रहेका सिद्धलिङ्गको दर्शनका लागि पनि पैदल यात्रा गरिने योजना रहेको उनले जानकारी दिए। उनका अनुसार कम्तीमा ३५–४० दिनमा बाग्मती प्रदेशका १० जिल्लामा रहेका सिद्धलिङ्गको तीर्थयात्रा सम्पन्न हुने अनुमान गरिएको छ।

पदयात्राका संयोजक पण्डित कपिलदेव सुवेदीले ६४ शिवलिङ्गको यस किसिमको यात्रा प्रताप मल्लपछि अहिले गर्न लागिएको जानकारी दिए।

पदयात्रा समितिका सचिव श्यामकृष्ण सुवेदीले ६४ शिवलिङ्गमध्ये २४ वटा काठमाडौंमा रहेका जानकारी दिए। उनका अनुसार पदयात्राका क्रममा काठमाडौं वरपरका १० जिल्लाबाट तीनपटक पशुपतिनाथको परिक्रमा हुनेछ।

प्रकाशित: ३० फाल्गुन २०८२ १८:४७ शनिबार