समाज

नेपालगन्जमा शनिबार सद्भाव र्याली निकालिने

बाँकेमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली आयोजना गरिने भएको छ।

जिल्लामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले पछिल्ला घटनाप्रति दुःख व्यक्त गर्दै सद्भाव कायम राख्न विभिन्न निर्णय गरेको हो।

बैठकले साउन १० गते सुनसरीमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताप्रति तथा साउन १४ गते सिराहामा भएको घटनामा मृत्यु भएका गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।

साथै मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ। बैठकले दुवै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न नेपाल सरकारसँग आग्रह गर्ने निर्णय समेत गरेको छ।

बैठकको अर्को निर्णयअनुसार जिल्लामा कुनै पनि अप्रिय अवस्था सिर्जना हुन नदिन सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै साउन १६ गते बिहान ७ः३० बजे नेपालगन्जको बीपी चोकदेखि धम्बोजी (वीरेन्द्र चोक) सम्म सद्भाव र्याली निकालिने भएको छ। 

र्यालीमा राजनीतिक दल, विभिन्न धार्मिक समुदाय, नागरिक समाज, सुरक्षा निकाय तथा अन्य सरोकारवालाको सहभागिता रहने जनाइएको छ।

यस्तै, सार्वजनिक स्थानमा डिजे तथा ठूलो आवाजका साउन्ड सिस्टम बजाउन विगतमा भएका सर्वदलीय तथा सर्वपक्षीय बैठकका निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय पनि बैठकले दोहोर्याएको छ।

धार्मिक र्याली तथा जुलुसका क्रममा हातहतियार प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिने तथा परम्पराअनुसार हतियार प्रदर्शन गर्ने चलन भएका स्थानमा वास्तविक हतियारको सट्टा प्रतीकात्मक सामग्री मात्र प्रयोग गर्नुपर्ने निर्णय गरिएको छ।

बैठकले जिल्लामा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षलाई जिम्मेवार र संयमित भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

प्रकाशित: १५ श्रावण २०८३ १४:०६ शुक्रबार