समाज

सतबिउ छर्न गएका एक ब्रतालुको मृत्यु

सांकेतिक तस्बिर

सुनसरीको रामधुनी मन्दिरमा लागेको बालाचतुर्दशी मेलामा सतबिउ छर्न पुगेका एक पुरुषको नुहाउने क्रममा मृत्यु भएको छ । सतबिउ छर्न पुगेका मोरङ सुन्दर हरैँचा-३ निवासी देवेन्द्र भट्टराईको मृत्यु भएको इलाकाप्रहरी कार्यालय पकलीले जनाएको छ ।  

‘बुधबार बिहान २ बजेतिर सतबिउ छर्न मन्दिर छेउमै रहेको सुनसरी खोलामा देवेन्द्रसहित तीन जना नुहाउन जाँदा देवेन्द्र बेपत्ता भएका थिए । एक अर्का जनालाई तत्काल प्रहरीले उद्दार गरेको थियो,’ इलाकाप्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक सञ्जिव ओलीले भने, ‘बेपत्ता देवेन्द्रलाई भेटाउन नसकेपछि सशस्त्र प्रहरीको गोताखोर टोली नै शव फेला पारेको हो ।’ खोला गहिरो भएकाले त्यसलाई सामान्य ठानेर भित्र पसेर नुहाउँन जाँदा देवेन्द्र बेपत्ता भएका थिए ।  

यसैबीच, केहीदिनदेखि बेपत्ता इटहरी-२ की ३५ वर्षीया मन्जु पौडेल निरौलाको शव धरानको सर्दु जलाधार खोल्सामा फेला परेको छ। कार्तिक २४ गते बिहानदेखि उनी हराएकी थिइन् । उनी घर नफर्किएपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन आफन्तले निवेदन दिएका थिए ।

खोजी गर्ने क्रममा कार्तिक २७ गते धरान उपमहानगरपालिका-४ बौद्ध विहार नजिक रातो लेडिज स्विटर, कालो चप्पल, खैरो ब्याग र सल प्रहरीले फेला परेको थियो । खोजीलाई तीव्र पारेको प्रहरीले उनको शव पनि सर्दु जलाधार क्षेत्रमा फेला पारेको हो ।

प्रकाशित: ३ मंसिर २०८२ १६:०५ बुधबार