रसुवाको भोटेकोशीमा फेरि ठुलो बाढी आउन सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले भोटेकोशीमा अस्तिको जस्तै बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका हुन्।
उनका अनुसार स्याफ्रु क्षेत्रमा बाढी आइसकेको छ।
चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठुलो ताल फुटेको जानकारी आएको अध्यक्ष अर्यालले बताएका छन्।
यसअघि चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि जानकारी दिएका थिए।
यसैबिच नेपाल प्रहरीले पनि तिब्बततर्फ पानीको ड्याम फेरि फुटेको जानकारी प्राप्त भएको भन्दै सतर्क रहन आग्रह गरेको छ।
नेपाल प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान तथा आसपासका मानिसलाई जानकारी गराउन आग्रह गरेको छ।
नेपाल प्रहरीले भनेको छ, ‘तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान/जानकारी गराउन अनुरोध छ।’
प्रकाशित: १२ भाद्र २०८३ ११:४३ शुक्रबार