समाज

स्कुलबाट घर फर्किँदै गरेका बालकलाई बाढीले बगायो

माइजोगमाई गाउँपालिका २, जोगमाईको खोल्मेका १२ वर्षे आहान खत्रीलाई बाढीले बगाएको छ। स्थानीय जोगमाई भ्याली बोर्डिङ स्कुलको कक्षा ६ का बालक सोमबार साँझ छुट्टी भएपछि घर फर्किरहेका बेला बाढीले बगाएको माइजोगमाई २ का वडाध्यक्ष डम्बर सुवेदीले बताए।

बालक खत्रीलाई बजुर खोलो (खोल्सो)मा आएको बाढीले बगाएर निकै तल जोगमाईसँग मिसिएको ठाउँछेउमै पुर्‍याएको छ। अहिले स्थानीयले उनलाई त्यहाँबाट निकाल्न प्रहरीलाई खबर गरेको तर ती बालक जीवित नरहेको हुनसक्ने वडाध्यक्ष सुवेदीले बताए।

‘बालक जीवित छैनन् भन्ने लागेर स्थानीयले प्रहरीलाई खबर गरेका छन्, अहिले स्थानीयले बालकलाई त्यहाँबाट थप तल लैजानबाट बचाएर प्रहरीलाई पर्खिरहेका छन्,’ वडाध्यक्ष सुवेदीले भने।

बालक आहान खोल्मेस्थित मावलीघरमा बस्दै आएका थिए। आहानको घर दाङ भए पनि उनका बुबा वैदेशिक रोजगारीमा रहेकाले उनी आमासँग मावलीघरमा थिए।

प्रकाशित: १८ श्रावण २०८३ २१:४६ सोमबार