बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन १२ बुँदे सिफारिससहित तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
विश्व बैंकको करिब १२ अर्ब रुपैयाँ ऋण सहयोगमा सञ्चालन हुने ग्ल्याड (बृहत्तर लुम्बिनी विकास) परियोजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन उक्त मार्गचित्र तय गरिएको हो।
शुक्रबारदेखि सुरु भएको ‘बृहत्तर लुम्बिनी क्षेत्रमा सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीयको दिगो विकास’ विषयक सम्मेलनले पूर्वाधार निर्माण गर्दा कङ्क्रिटभन्दा सम्पदामैत्री विकासमा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ।
सम्मेलनले ग्ल्याड परियोजनाअन्तर्गत सबै क्षेत्र र सरोकारवालालाई समेटेर सामुदायिक नक्साङ्कन गर्ने र स्थानीयलाई आयआर्जनसँग जोड्ने नीति तय गर्न सरकारलाई सिफारिस गरेको छ।
लुम्बिनी विकास कोषका सदस्यसचिव ज्ञानीन राईका अनुसार बृहत्तर लुम्बिनी क्षेत्रका तिलौराकोट, रामग्राम र देवदहलगायतका स्थानमा पुरातात्त्विक, ऐतिहासिक र सांस्कृतिक महत्त्व झल्किने गरी विकास कार्यक्रम सञ्चालन गर्न विज्ञहरूले १२ बुँदे सुझाव दिएका छन्।
अब कुनै पनि पूर्वाधार वा विकास निर्माणका कार्य अघि बढाउँदा अनिवार्य रूपमा सम्पदा प्रभाव मूल्याङ्कन, संरक्षण योजना, हाइड्रोलोजिकल अध्ययन र वातावरणीय न्यूनीकरण योजना तयार पारेर मात्रै कार्यान्वयन गर्नुपर्ने सिफारिस गरिएको छ
पवित्र बगैँचा, मायादेवी मन्दिर तथा पुरातात्त्विक भग्नावशेषको मर्मत सम्भार गर्दा त्यसको ऐतिहासिक र आध्यात्मिक मूल्य–मान्यताको सम्मान गर्नुपर्ने सम्मेलनको निष्कर्ष छ। तीर्थयात्री, भिक्षु र साधकहरूका लागि प्रार्थना तथा ध्यान केन्द्र, विश्रामस्थल, खानेपानी, शौचालय, जुत्ता व्यवस्थापन, सुरक्षा र स्वास्थ्यलगायतका सुविधाहरू तत्काल व्यवस्थित गर्नुपर्ने सुझाव पनि दिइएको छ।
सम्मेलनमा युनेस्को नेपालका प्रतिनिधि याको दु तोईले स्थानीयको प्रत्यक्ष सहभागिताविना सम्पदा संरक्षण असम्भव हुने बताए। उनले स्थानीय नागरिक, विहार र स्थानीय तहसँग समन्वय गरेर सम्पदामैत्री नमुना काम अघि बढाउनुपर्नेमा जोड दिए।
पर्यटकको सुविधाका लागि सूचना बोर्ड, स्थानीय गाइड र अडियो–भिजुअल सामग्रीमार्फत बुद्धको जीवनी र सम्पदाको महत्त्वबारे जानकारी दिने प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने विज्ञहरूको सुझाव छ।
संस्कृति तथा पर्यटनमन्त्री खडकराज पौडेलले उद्घाटन गरेको यस अन्तर्राष्ट्रिय सम्मेलनमा भारत, श्रीलङ्का, इन्डोनेसिया, म्यान्मार, बेलायत, जापान, अस्ट्रेलिया र थाइल्यान्डलगायतका मुलुकबाट १५० जनाभन्दा बढी बौद्ध विद्वान्, अनुसन्धानकर्ता, पुरातत्त्वविद्, सम्पदाविद् तथा भिक्षु-भिक्षुणीहरूको सहभागिता रहेको थियो।
प्रकाशित: ४ आश्विन २०८३ २०:०६ आइतबार