समाज

बागबजार छिचोल्नै आधा घण्टा

काठमाडौं–तपाईं सवारीसाधनबाट बागबजार हुँदै कतै जाँदै हुनुहुन्छ ? कि तपाईंले दुई मिनेटमा आइपुग्छु भनेर बागबजार पस्ने ठाउँमा कसैलाई पर्खाउनु भएको छ ? त्यसो भए सचेत हुनुस् किनभने बागबजारको एक छेउबाट अर्को छेउ पुग्न सहज छैन । विस्तारित सडकको दुवै किनारमा पार्किङ गरिएका सवारीसाधनका कारण जाम हुँदा एक छेउबाट अर्को छेउ पुग्न कम्तीमा पनि आधा घन्टा छुट्याउनै पर्छ।नत्र भक्तपुरका कमल खड्का (नाम परिवर्तन)लाई जस्तै फसाद तपाईलाई पर्ला ! खड्का गत साता बस चलाउँदै बानेश्वर आएका थिए । त्यही बेला साथीको फोन आयो । ट्राफिकको आँखा छल्दै उनले मोबाइलमा कुराकानी गरे । उनकी साथीलाई तुरुन्तै पैसा चाहिएको रहेछ । समस्या अलि जटिल थियो । 'पैसा तुरुन्तै चाहिने' साथीले भनेपछि खड्काले बानेश्वरबाट १० मिनेटमा पुतलीसडक र करिब ५ मिनेट रत्नपार्कतिर बागबजारको छेउ पुग्न लाग्ने अनुमान गर्दै १५ मिनेटमा त्यहाँ पुग्ने समय दिए ।

काठमाडौंका सडक खड्काले सोचेजस्तै ठिक समयमा पुग्न सकिने कहाँ छ र ? बानेश्वरबाट उनलाई पुतलीसडक पुग्नै ३० मिनेट लाग्यो । त्यस बेला पनि उनकी साथीले निरन्तर फोन गरिरहेकी थिइन् । बागबजार छिरेपछि त २ मिनेटमा पुगिहाल्छु नि भनेर उनले फेरि २ मिनेट समय दिए । तर २ मिनेटमा त उनी बागबजार सडकमा २० मिटर पनि पार गर्न सकेनन् । कारण थियो जाम ।

जाम छिचोल्दै जाँदा रत्नपार्कतिर बागबजारको छेउ पुग्न उनलाई आधा घन्टाभन्दा बढी लाग्यो । उनले त्यहाँ पुगेर साथीलाई फोन गरे तर उनले फोन उठाइनन् । उनलाई कमलले झुक्यायो भन्ने परेछ । त्यसपछि उनीहरूबीच खटपट सुरु भयो ।

त्यसो त खड्काले साथीसँग धोका खाएको पहिलो पटक हो । तर ट्राफिक जाममा भने उनी यसरी नै दैनिकजसो परिरहन्छन् । उनले राजधानीमा सवारी चलाउन थालेको पाँच वर्ष भयो । दिनहूँजसो दुई÷तीन घन्टा त जाममै बित्ने उनले सुनाए । उनी मात्रै होइन, काठमाडौंमा यात्रा गर्ने सबैको हविगत यस्तै हो ।

बागबजार सडकमा भेटिएका राजन कार्कीले पनि मोटरसाइकललाई समेत सडक पार गर्न आधा घन्टा लागेको बताए । 'साढे एघार बजे म पुतलीसडकबाट छिरेको,' मोबाइल हेर्दै उनले भने, '१२ः०५ भैसकेछ । अब तपाईं नै भन्नुस्, कति सयम लाग्यो ?' त्यसो त खड्का र कार्कीका मात्र होइन, बागबजार भएर हिँड्ने सबै सवारीचालकका समस्या उस्तै हुन् ।

बागबजारको सडक विस्तारपछि अहिले चौडा भएको छ । वडा कार्यालय ३१ का अनुसार दुईबाट चार लेन बनाएर कालोपत्रे गरिएको छ । तर जाम भने झनै बढेको छ । बढेको सडक दुवैतिर सवारीसाधन पार्किङ गरिएकाले जाम बढेको हो । वडा कार्यालयमा पार्किङ भएर जाम अति भो भन्दै गुनासो नआएका होइनन् तर यो काम वडा कार्यालयको होइन । 'गुनासो आएपछि म आफैं गएर हेरेँ । दुवैतिर पार्किङले सडक अस्तव्यस्त पारेको रहेछ । ट्राफिक प्रहरी र नगरप्रहरीको संयुक्त समितिले बागबजार हेर्छ । त्यहाँ कार्यान्वयन शाखामा यो जानकारी गराएँ,' वडा ३१ का कार्यालय प्रमुख सुदर्शन भट्टराईले भने, 'कार्यान्वयन शाखाबाट काम पनि भएको छैन र कुनै प्रतिक्रिया पनि आएको छैन । के भईरहेको छ अहिले जानकारी छैन ।'

महानगरपालिकाका चारवटा क्षेत्र अनुसार ट्राफिक व्यवस्थापन पनि विभाजन गरिएको छ । बागबजार मध्यक्षेत्रअन्तर्गत पर्छ । मध्यक्षेत्रका इन्चार्ज तथा तथा नगरप्रहरीका डिएसपी विष्णुराज जोशीले भने बागबजारको जामबारे कुनै गुनासो नआएको बताए । 'हामीलाई बागबजार सडकमा अव्यवस्थित पार्किङ र ट्राफिक जामबारे कुनै गुनासो आएको छैन,' उनले भने, 'गुनासो आए वा पार्किङ गरेको भेटिए कानुनी कारबाही गर्न तयार छौं ।' जोशीले केही समय अगाडि भने गुनासो आएकै आधारमा शंकरदेव क्याम्पसअगाडि सडकमा पार्किङ गरेका सवारीलाई नगरप्रहरीले कारबाही गरेको बताए । सडकमा पार्किङ गरेका सवारीलाई कानुनअनुसार नगरप्रहरीले हजार रुपैयाँ जरिवाना गर्दै आएको छ ।

सडकमा एकतिर वल्लो छेउबाट पल्लो छेवैसम्म मोटरसाईकल पार्किङ गरिएको छ भने अर्कोतिर निजी चारपांग्रे र मोटरसाईकल पार्कस्थल बनाईएको छ । सडकलाई पार्किङ स्थल बनाउँदा पनि नगरप्रहरी भने मुखदर्शक बनेको छ । नगरप्रहरी भने यो स्विर्कान तयार छैन । 'ट्राफिक आउँछ, मोटरसाईकलाई त केही गरेको देखिन्न । हामीलाई भने यहाँ पार्किङ नगराउ, हटाँउ भनेर जान्छ ।' सडकमा ट्याक्सी पार्किङ गरेर बसिरहेका चालक फत्तबहादुर खत्रीले भने, 'सबैलाई राख्न नदिएता हामी पनि राख्दैनथियौं । कारहरु त पार्किङ गरिरहेका हुन्छन । हामी त ट्याक्सी हौं । कहिले कहाँ कहिले कहाँ पुग्छौं ।' उनले यसो भनिरहँदा उनको ट्याक्सी पछाडि पाँच सात वटा ट्याक्सी थिए भने २० २५ भन्दा बढी कारहरु पार्किङमा थिए । अर्कोतिर वल्लोछेउदेखि पल्लो छेउसम्म मोटरसाईकल पार्क गरिएको थियो ।

पार्किङको कारण सबैभन्दा हैरानी सडकमा सवारी चलाउने खेल्न परेको छ । उसो त पार्किङले सटर लिएर व्यापार गर्नेहरु तथा बागबजारमा कार्यालय चलाउनेलाई पनि मर्का परेको छ नै तर उनीहरु भने आफुलाई समस्या परेको बताउँदैनन् किनभने सवारी पार्किङ गर्नेहरु उनीहरु नै हुन । बागबजारमा व्यापार गर्ने तथा कार्यालय सञ्चालन गर्नेहरुले पार्किङ गरेको देखेपछि बागबजारमा आउने अरु सेवाग्रहीले पनि पार्किङ गर्न थालेका हुन । स्कुटी पार्किङ गर्दै गर्दा भेटिएका सौरभ घिमिरेले भने, 'एक जनालाई भेट्न आएको सबैले पार्किङ गरेको देखेँ । मैले पनि गरिदिए ।' उनले थपे, कसैले पार्किङ नगर्ने हो भने हामी पनि कतै ठाउँ खोजेर गर्दथ्यौं होला ।'

प्रकाशित: २८ वैशाख २०७३ २०:५४ मंगलबार