तरकारी खेतीबाट जीवनस्तर उकास्ने कसरतमा रहेका बासिन्दा यतिबेला चिन्तित छन्। खेतमा पानी लगाउन गाडेको चापाकल, र बोरिंगमा पानी आउन छाडेको छ। खेतमा पानी लगाउने चिन्तासँगै खानेपानीका लागिसमेत यहाँका बासिन्दा तड्पिन बाध्य छन्, यतिबेला। खानेपानीका लागि गाडेको चापाकलले पानी दिन छाडेको महिना दिन नघिसक्यो। इनार पनि सुक्न थालिसक्यो।
यो गाउँको तीनसय दश घरधुरीको प्यास मेटाउने एकमात्र इनारमा पनि पानी सुक्न थालिसकेको छ। माधव थपलियाको उतm इनार सुकिसकेपछि खानेपानीका लागि तडपिनुपर्ने बाहेक बिकल्प रहँदैन स्थानीय प्रमोद यादवले सुनाए। गाउँका अरु इनारमा पानी सुकेपछि सबै यही इनारको पानीमा आश्रित छन्। रातभरमा जम्मा भएको इनारको थोरै पानीका लागि गाउँभरीका मानिस झुमिन्छन्। घण्टौं लाइन बसेर पनि पानी थाप्छन्। भाडामा थोरै पानी लिएर प्यास मेटाउन घर फर्किन्छन स्थानीय। यो हाहाकारबाट छिट्टै पार पाउँ भन्दै गाउँलेहरु भगवान पुकारिरहेका छन्।
'पहिला पहिला समयमै वर्षा हुन्थ्यो। चापाकल, इनारा पोखरी कहिल्यै सुक्दैनथ्यो,' गाउँका अग्रज झमनलाल यादव भन्छन्, 'अहिले राजनीति जस्तै प्रकृतीले पनि रुप बदलिएजस्तो लाग्छ।' विगत सम्झँदै यादवले सुनाए,'हामी आकासतिर हेरेर अन्नबाली लगाउथ्यौं। अहिले पानी पर्लाजस्तो हुन्छ तर हावाहुरीमै सीमित भइदिन्छ पानी नपरेर खेत बन्जर भैसक्यो ।' हरियाली हराउँदा प्रकृतीमा डरलाग्दो परिवर्तन आएको वातावरण तथा वन सम्वन्धि किताबी अध्यन नगरेका उनले सुनाए। 'रुख विरुवाले छपक्क छोपिएको पहाड अहिले नागिँएर उराठ देखिन्छ। पहाडमा रुख विरुवा हराइसक्यो जहाँ आँखा दौडायो उराठलाग्दो ढिस्को बाहेक कतै हरियो देख्न पाइँदैन,'उनले भने ।
पछिल्लो केही वर्षमा चुरेमा व्यापक दोहन भयो। भारतको राष्ट्रिय राजमार्ग निर्माणमा आवश्यक निर्माण सामग्री (ढुँगा, गिट्टी) यहींबाट आपूर्ती भएको थियो। चुरेक्षेत्रमा क्रसर उद्योग राखेर चुरे उत्खन्न गरी उतm निर्माण सामग्री तयार पारेर राजमार्ग निर्माणमा अपूर्ति गरिन्थ्यो । त्यो बेला स्थानीय अगुवालाई लोभ दिएर चुरेमा व्यापक दोहन गरिएको थियो ।
जेसिवि र एक्साभेटरबाट चुरे फोडेर ढुंगा र ग्राभेल निकालिँदाको प्रभाव यतिबेला देखिन थालेको छ। त्योबेला तत्काल चुरे दोहनको प्रभाव नदेखिए पनि पछिल्लो तीन वर्षदेखि दोहनको प्रभाव देखिँदैछ।
चुरेमा अनियन्त्रित दोहनले वाटर रिचार्ज एरिया खुम्चिएर चुरे फेदका वस्तीबाट सुरु भएको खानेपानीको हाहाकार यो वर्षदेखि राजमार्ग र दक्षिणवर्ती बस्तीसम्म फैलिएको छ। चुरे फेदका बस्तीमा इनार र चापाकलमा पानी आउन छोडेको एक वर्ष भयो। यी बस्तीका बासिन्दा खोलाको र कुलोको पानीबाट प्यास मेटाइरहेका छन्।
चुरे फेदको गाउँ सिरहाको टोडकेमा तीन वर्षदेखि खानेपानीको हाहाकार छ । एकमात्र ओभरहेड ट्याँकीबाट गाउँभरीका मानिस खानेपानीका लागि लाम बस्छन्। दिउँसो तीन वजेबाट एक घण्टा वितरण हुने पानी थापेर २४ घण्टासम्म पानी खान्छन यहाँका बासिन्दा।
चुरे फेदको गाउँमात्र नभई गत वर्षदेखि गोलबजार नगरपालिकामा पनि पानी हाहाकार छ । चापाकल सुकेपछि यहाँका वासिन्दा खाल्डो खनेर चापाकल गाडेका छन् । '१५ फिट गहिरो खाल्डो मुनी एक सय फिट गहिरो चापाकल धसाउँदासमेत राम्ररी पानी आउँदैन,' गोलबजारका प्रमोद यादवले सुनाए। लहानका रामप्रसाद यादवको चापाकल पानी दिन छाडेपछि उनले १५ फिट गहिरो खाल्डा खनेर कल गाडेको वर्ष दिन भयो। 'पहिला कलमा मोटर सेट गरेर पानी तान्थ्यौं,' उनले भने, '१५ दिन भयो पानी आउनै छोड्यो।'
लहानका वन तथा वातावरण विज्ञ दिनेश यादव भन्छन्, 'चुरे श्रृखलामाथि भएको अनियन्त्रित र अप्राकृतिक दोहनले पानी चार्ज क्षेत्र खलबलिएको छ । जसको असर चुरे फेदका बस्ती हुँदै राजमार्ग दक्षिणको बस्तीसम्म फैलिँदै छ । 'चुरेको वन र खनिज पदार्थको विनासलिला अझै रोकिएको छैन,' उनले भने,'विनासको क्रम नरोकिए चौतर्फी संकट आउने खतरा छ।'
भूमिगत जलस्रोत कार्यालय लहानका अनुसार पहिला ४० देखि ६० फिटमुनी पानीको राम्रो लेयर पाइन्थ्यो । अहिले एक सय फिट मुनी समेत पानीको लेयर नभेटिने कार्यालयले जनाएको छ।
प्रकाशित: १७ वैशाख २०७३ २२:४८ शुक्रबार