समाज

बाढी पहिरो प्रभावित क्षेत्रमा स्थानीयलाई साथ दिदै मन्त्री बडू

अस्थायी तटबन्द निर्माणमा ढुंगा बोक्दै मन्त्री बडू। तस्बिरः प्रेम/नागरिक

दार्चुलापीडितको लागि राहत बोकेर गृह जिल्ला दार्चुला पुगेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू बाढी पहिरो प्रभावित क्षेत्रमा गएर ढुंगा बोक्न थालेका छन्।

राहत तथा उद्धारमा खटिएका सर्वसाधारणको घाउमा मलम लगाउन मन्त्री बडूसहितको टोली अस्थायी तटबन्द निर्माणका लागि ढुंगा बोकरे पुरानै धारमा खोला फर्काउन ढुङगा बोक्न थालेका हुन।

निरन्तरको बर्षाले बाढी पहिरो र कटान नरोकिएपछि महाकाली नगरपालिका–४ बाङ्गाबगरमा लास्कु खोलाले कटान गरिरहेको क्षेत्रमा पुगी अस्थायी तटबन्धन निर्माण गरिरहेका स्थानीय, सुरक्षाकर्मीलाई सघाउँदै मन्त्री बडूको टोलीले ढुङगा बोक्न थालेका हुन्।

शुक्रबार रातिदेखि परेको अविरल वर्षा र बाढीपहिरोका कारण दार्चुलामा ठुलो जनधनको क्षति भएको थियो। जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो मात्रामा जनधनको क्षति भएको हो। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बडूको टोली नेपाली सेनाको हेलिकप्टरमा राहत बोकेर शनिबार बेलुका नै बाढी पहिरोग्रस्त क्षेत्र पुगेका थिए। 

उनीहरुले बाढीपहिरोमा ज्यान गुमाएका मानिसको परिवारलाई भेटेर सान्त्वना समेत दिइरहेका छन्। संघीय सरकारका उद्योगमन्त्री बडू, सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीसहितको टोलीले तटबन्धनका लागि खटिएका स्थानीय, सुरक्षा निकाय सँगै ढुङगा बोक्न थालेका हुन्। अहोरात्र उद्धार, राहत तथा पुर्नःनिर्माणमा जुटेको स्थानीय संयन्त्रको हाैसला बढाउन आफूले समेत श्रम गरेको मन्त्री बडूले प्रतिक्रिया दिएका छन्।

नदीको कटान रोक्न तटबन्धन गरेर पानीको बहाव फर्काउने प्रयास गरिएको मन्त्री बडूले बताए। खोलाको मुखैमा एक दर्जन घर जोखिममा रहेकाले कटान रोक्न तटबन्धन निर्माण गरिरहेको बताइएको छ। बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका ४२ घरमा पूर्ण र ९ वटामा आंशिक क्षति भएको छ। प्रहरीका अनुसार ४० घर जोखिममा छन्। बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण सुरु गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म ५ जनाको मृत्यु भएको छ। ८ जना घाइते मध्ये पाँच जनाको उपचार भइरहेको र ३ जना डिस्चार्ज भइसकेका भने १० जना अझै बेपत्ता रहेका छन्। महाकाली नदीमा पानीको बहाव नघट्दा बेपत्ताहरूको खोजीमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुखले प्रहरी निरीक्षक जगत गाहामगरले बताए।

प्रकाशित: २६ भाद्र २०७९ १४:३२ आइतबार

दार्चुला