समाज

कुलमानलाई हरिवंशले भनेः राम्रो मान्छे लैजाँदैछन् भन्ने सुनेको छु, शुभकामना

वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति गर्दा अहिले नेपालले विद्युत व्यपार गरिरहेको र उनको काम प्रशंसायोग्य रहेको बताएका छन्।

शुक्रबार नेपाल विद्युत प्राधिकरणले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विद्युतको क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको बताए।

उनले नेकपा (माओवादी केन्द्र) ले काठमाडौँबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इंगित गर्दै राम्रो मान्छेलाई लैजाने भन्ने हल्ला सुनेको छु, भन्दै शुभकामना व्यक्त गरे।

उनले भने, ‘कुलमान सरलाई विद्युत प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्छ भनेर फेसबुकमा नै स्टाटस लेखेर राखेका थियौँ। त्यसमा यति धेरै फिडब्याक आयो, उहाँ जस्तो मानिस चाहिन्छ भनेर। राम्रो मान्छेलाई जसले पनि लैजान्छन्। लैजाने रे भन्ने हल्ला पनि सुनेका छौँ हामीले। उहाँलाई शुभकामना।’

यस्तै वरिष्ठ कलाकार आचार्यले सरकारले अब विद्युतीय सवारीसाधन बाहेकका सवारीसाधन आयात नै गर्न नपाउने नियम अवलम्बन गर्नुपर्ने बताए। उनले विद्युतीय सवारीको भन्सार घट्यो भने कर्मचारीहरुलाई तलब दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले विद्यतीय सवारीको कर बढाइरहेको बताए।

उनले विद्युतीय सवारीसाधनको कर बढाउँदा आफूले विद्युतीय सवारी चढ्न नपाएको गुनासो गरे। उनले सरकारले विद्युतीय सवारीको कर बढाएकै कारण आफ्नो विद्युतीय सवारी किनेर चढ्ने सपना पूरा हुन नसकेको र घरमा पनि श्रीमतीले हरेक दिन सरकारले भन्सार घटाएन भन्ने प्रश्न गरिरहेको भन्दै व्यंग्य गरे।

कलाकार आचार्यले सरकारले विद्युतीय गाडीको भन्सार घटाइ डिजेल र पेट्रोलको खपतलाई कम गर्न आवश्यक रहेको बताए। उनले देश विकासका लागि सरकारले दीर्घकालीन योजना बनाउन आवश्यक रहेको पनि बताए। वरिष्ठ कलाकार आचार्यले सार्वजनिक यातायात पूर्णतया विद्युतीयकरण हुनसके मात्रै खर्बौं रकम विदेश जानबाट रोकिने दाबी गरे।

आचार्यले नेपालले युवाको उर्जा बेचेर नभइ विद्युतीय उर्जा व्यापार गरेर देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरामा जोड दिनुपर्ने बताए। उनले नेपालको निर्यात र आयातको स्थिति राजमार्ग हेरेर थाहा हुने व्यंग्य गर्दै देब्रे तिरको बाटो भन्दा दायाँ तिरको बाटोमा खाल्डो पर्ने गरेर निर्यात गर्न जरुरी रहेको बताए।

उनले पछिल्लो समय विद्युतको माध्यमबाट नेपालमा शुभ संकेत देखिन थालेको भन्दै बिजुलीको विकाससँगै नेपालको औद्योगिक विकास पनि शुरु हुने विश्वास पलाएको बताए। वरिष्ठ कलाकार आचार्यले देशको विकासका लागि विद्युतको व्यपार बाहेकको विकल्प नरहेको भन्दै ठूला जलविद्युत बनाउनु हुँदैन भन्ने कुराको भ्रममा नपर्न आग्रह गरे।

उनले आफ्नै देशमा भएको विद्युत खपत बढाएर देशलाई संसारको सबैभन्दा विकसित देशको दाँजोमा उभ्याउन सक्नुपर्ने बताए। आचार्यले दशौं लाख युवाहरुलाई हामीले विदेशमा निर्यात गरेर आएको रेमिटेन्सबाट देशको अर्थतन्त्र अघि बढाउने परिपाटीको अन्त्य हुन आवश्यक रहेको बताए।  

प्रकाशित: १८ भाद्र २०७९ १०:१९ शनिबार

वरिष्ठ कलाकार हरिवंश आचार्य नेपाल विद्युत प्राधिकरण (माओवादी केन्द्र)