समाज

भाषाबारे सातबुँदे घोषणापत्र जारी

झापा-नेपाली भाषा अझै सरल र सुबोध बनाउने तथा लेख्य र कथ्य मानक निकट तुल्याउन प्रयासरत रहने लगायत सातबुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली भाषा सम्मेलन आइतबार सकिएको छ। झापाको काँकडभिट्टामा तीन दिन चलेको भाषा सम्मेलनमा नेपाल, भारत, भुटान र म्यानमारका भाषाविद्को बाक्लो जमघट थियो।


नेपाल प्रज्ञा प्रतिष्ठान र भानु प्रतिष्ठानले गरेको तीनदिने भाषा संगोष्ठीमा सहभागी भाषाविद्ले नेपाली भाषा नेपालको माध्यम भाषा भएका कारण र देशबाहिर रहेका नेपालीभाषीको समेत माध्यम भएकाले सकेसम्म सरल र बोधगम्य बनाउन प्रतिबद्धता जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालय नेपाली भाषा विभागका प्राध्यापक हेमाङ्गराज अधिकारीले सातबुँदे घोषणापत्र जारी गरेका हुन् । घोषणापत्रमा 'नेपाली भाषा नेपालका विविध जातजाति तथा नेपाल बाहिरका नेपालीभाषी, विभिन्न जनसमुदायको साझा सम्पर्क भाषासमेत भएको हुँदा अझ सरल र सुबोध भाषाका रुपमा अघि बढाउन आ–आफ्ना क्षेत्रबाट योगदान दिने' उल्लेख छ ।

नेपाली भाषाको लेख्य मानकलाई कथ्य मानकसँग निकट तुल्याउन प्रयत्नशील रहने, नेपाली भाषामा प्रचलित आगन्तुक शब्द भण्डारलाई तद्भव शब्दको लेखन पद्धति अनुरुप प्रयोग गर्न प्रोत्साहन गर्ने, नेपाली भाषालाई मानकीकरण र आधुनिकीकरण गर्दै लैजान नेपाल प्रज्ञा प्रतिष्ठान, भारतीय भाषा संस्थान, मैसुरलगायत संस्थाले अघि बढाएका प्रयासलाई निरन्तरता दिने बँुदा पनि घोषणापत्रमा समेटिएको छ ।

नेपाली भाषालाई शिक्षा, लेखन, सम्पादन, प्रकाशनलगायत क्षेत्रमा स्तरवृद्धि गर्न प्रयत्न गर्ने, नेपाली भाषाका मानक शब्दकोष तथा व्याकरण अनुरुप भाषा प्रयोग गर्न सञ्चार क्षेत्रलाई सार्वजनिक आह्वान गर्ने, नेपाली भाषाको विश्वव्यापी प्रयोगमा टेवा पुर्‍याउन र समयानुकूल विकास गर्न आवश्यकता अनुसार भेटघाट तथा गोष्ठी आयोजनालाई निरन्तरता दिने घोषणापत्रमा उल्लेख छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेले नेपाली भाषाबारे पुरानो र नयाँ पुस्ताबीच द्वन्द्व रहेको जनाउँदै समयअनुसार भाषा, व्याकरणमा परिवर्तन आउनुपर्ने आवश्यकता औंल्याए । उनले सम्पादक र शिक्षकले भाषाबारे बढी जिम्मेवार बन्न अत्यावश्यक रहेको बताउँदै संगोष्ठीले भाषा सम्वद्र्धन गर्न मद्दत पुगेको दाबी गरे ।

भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले व्यवस्थापन गरेको संगोष्ठीमा चारैवटा देशका सयभन्दा बढी भाषाविद्ले छलफल गरे । आठवटा कार्यपत्र पेश भएको संगोष्ठीमा दर्जन बढी विज्ञले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । संगोष्ठीका अधिकांश वक्ताले नेपाली भाषा सरल बनाउनु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित: १ चैत्र २०७२ २१:५२ सोमबार