समाज

एपेक्स कलेज तोडफोड

काठमाडौं- एमबिए कार्यक्रमको भर्ना प्रक्रियामा मनोमानी गरेको आरोप लगाउँदै विप्लवनिकट माओवादी क्रान्तिकारी विद्यार्थी संगठनले विहीबार बिहानै बानेश्वरस्थित एपेक्स कलेजमा तोडफोड गरेका छन्। कलेजले क्रान्तिकारी विद्यार्थी संगठनसँग गरिएको सम्झौताविपरीत गएर एमबिएमा विद्यार्थी भर्ना प्रक्रिया अघि बढाएको भन्दै कलेजमा तोडफोड गरेको संगठनका पोखरा विश्वविद्यालय संयोजक हरिश भट्टले जनाए।

पोखरा विश्वविद्यालयअन्तर्गत रहेको यस कलेजले विद्यार्थी भर्नामा अनियमितता गरेको, वार्षिक १ लाखको हाराहारीमा शुल्क वृद्धि गरेको भन्दै विरोधस्वरुप कलेजमा तोडफोड गर्नुपरेको भट्टको भनाइ छ।

गत वर्षसम्म यस कलेजले ४ लाख ८५ हजार रुपियाँमा एमबिए कोर्स पूरा गराउने गरेको थियो भने यस वर्ष सोही दुई वर्षे कोर्सको शुल्क ५ लाख ६५ हजार पुर्याएएको छ। यसका साथै क्रान्तिकारी विद्यार्थी संगठन र पोखरा विश्वविद्यायबीच भएको सम्झौता अनुसारको १० प्रतिशत छात्रवृत्तिसमेत उपलब्ध नगराएको विद्यार्थी संगठनको आरोप छ।

'एमबिएको भर्नाको प्रवेश परीक्षा कलेजले आफैँ सञ्चालन गर्ने र नतिजा प्रकाशन गर्ने गरेको छ। यसले कलेजमा आफन्त मात्र भर्ना हुने र छात्रवृत्ति पारदर्शी नहुने पाइएको छ,' संयोजक भट्टले भने, 'कलेजलाई दुई दिनअघि चेतावनी पत्र दिँदासमेत अटेर गरी भर्ना प्रक्रिया अघि बढाएकाले हामीले तोडफोड गर्यौंु।'

अन्य कलेजलाई पनि भर्ना प्रक्रिया र छात्रवृत्तिमा पारदर्शिता अपनाउन आग्रह गरेका छन्। अटेर गर्ने कलेजलाई कडा कारवाही गरिने उनले चेतावनीसमेत दिए।

उता एपेक्स कलेजका प्रिन्सिपल भानु शर्माले विहीबार एक्कासि मोटर साइकलमा आएको एउटा समूहले कलेजका १० भन्दा बढी ‰यालमा ढुंगामुढा गरी सिसा फुटाइदिएको जनाए ।

प्रिन्सिपल शर्माले विद्यार्थी संगठनको नाउँमा कलेजमाथि आक्रमण गरी शैक्षिक क्षेत्रमा आतंक मच्चाउने कार्य भएको टिप्पणी गरे। उनले आफूहरुसँग चन्दा मागेको र सो नदिएपछि भर्नाको मुखैमा आएर आतंक मच्चाएको आरोप लगाए ।

'कलेज माथिको आक्रमण चन्दाको धन्दा हो,' प्रिन्सिपल शर्माले नागरिकसँग भने, 'हामीले कर, विद्यार्थी भर्ना र छात्रवृत्तिसमेत विश्वविद्यालयको नियमअनुसारै पारदर्शिता अपनाएका छौं। हाम्रो कलेजमा क्रान्तिकारी विद्यार्थी संगठनले विद्यार्थी काउन्सिल खोलेर चन्दाको धन्दा गर्न खोजे। मैले रोकेपछि उनीहरु तोडफोडमा उत्रिएका हुन्।'

एमबिए निकै व्यवहारिक र खर्चालु विषय भएकाले शुल्क पनि मुद्रास्फीतिअनुसार बढाउनु परेको उनले स्वीकारे। वर्षभरि चुप लागेर बस्ने विद्यार्थी संगठनहरु बर्सेनि भर्नाको मुखमा आएर प्रायोजित तरिकाले विभिन्न बहानामा भर्नाको माहोल बिगार्न खोजेको आरोप उनले लगाए।

विद्यार्थी संगठनले भने आफूले कसैसँग चन्दा नमागेको र कलेजको मनोमानी रोक्न विद्यार्थीको हितका लागि आन्दोलनमा उत्रेको जनाएको छ। पोखरा विश्वविद्यालयअन्तर्गत एमबिए अध्ययन गराउने चार सम्बन्धनप्राप्त कलेजहरु छन्। जसमध्ये सिनामंगलमा रहेको एस कलेजले दुई वर्षे कार्यक्रमका लागि ५ लाख ८० हजार, मध्यबानेश्वरमा रहेको युनिग्लोब कलेजले ३ लाख १० हजार र लगनखेलमा रहेको सायम कलेजले ५ लाख ८ हजार शुल्क तोकेको छ।

'युनिग्लोबका अतिरिक्त तीन वटै कलेजको शुल्क बढी छ,' भट्टले भने, 'वृद्धि गरेको शुल्क कलेजले फिर्ता नलिए र छात्रवृत्तिमा पारदर्शिता नभएसम्म कलेजहरुलाई भौतिक कारवाही जारी नै राखिनेछ।'

प्रकाशित: ९ पुस २०७२ २०:५३ बिहीबार