समाज

तस्करीको ४० सिलिन्डर ग्यास सहित दुई पक्राउ

लहान-भारतबाट नेपालमा ग्यास सिलिन्डर तस्करी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले भातीय सहरबाट ग्यास भरिएको सिलिन्डर पिकअप जिपमा अबैध रुपमा काठमाडौं लगेर कालोबजारी गर्ने गरेको प्रहरीले बताएको छ।४० सिलिन्डर ग्यास सहित सप्तरी कल्याणपुर ५ का दिपेन्द्र चौधरी र सिरहा मोहनपुर कमलपुर ५ का मनोज चौधरी पक्राउ परेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपि उमा प्रसाद चतुर्वेदीले जानकारी दिए ।

बा ४ च ३७५१ नम्बरको पिकअप जिपमा भारतबाट ४० सिलिन्डर ग्यास लिएर काठमाडौं जादै गर्दा ईलाका प्रहरी कार्यालय धनगढीका प्रहरी नायव निरीक्षक श्याम किशोर यादव नेतृत्वको प्रहरी टोलीले शुक्रवार विहान उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने मनोज चौधरी ग्यास कालोबजारी गर्ने व्यपारी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी मधेस बन्दको क्रममा चार महिनादेखि भारतबाट ग्यास भरीएको सिलिन्डर काठमाण्डौं पुर्याएर कालोबजारी गरिरहेको प्रहरी अनुसन्धानमा देखिएको छ।

उनीहरुलाई कालोबजारी ऐन अन्तर्गत मुद्धा चलाईने डिएसपि चतुर्वेदीले बताए ।

प्रकाशित: २५ मंसिर २०७२ ०५:२५ शुक्रबार