'हडताल आज टुंगिएला, भोलि टुंगिएला भनेर आशा गर्दै कुर्यौं , तर टुंगिएन,' नाम सार्वजनिक गर्न नचाहने उनले भने, 'यति लामो बन्दको थपेको आर्थिक भार थाम्न सकिनँ। होटल सधैंका लागि बन्द गरेको १५ दिन भयो।'
उनले होटलका फर्निचर बिक्री गरिसकेका छन्। 'मेरो सपना भत्के पनि अरू मधेसीको सपना नभत्कियोस्,' उनले भने।
अब बन्द खुलेर मधेसको अवस्था सामान्य बनेपछि अर्को व्यवसाय गरेर गुजारा चलाउने उनले बताए।
साढे तीन महिनाभन्दा लामो मधेस आन्दोलनको मारमा पर्ने उनी प्रतिनिधि पात्र हुन्। उनीजस्तै थुप्रै व्यवसायीको बिल्लीबाठ भएको छ। धेरैले व्यवसाय सधैंका लागि नै बन्द गरेका छन्।
पानबारीका सन्तोष यादवले छोराछोरी पढाउन भनेर दुई वर्षअगाडि मिर्चैयामा डेरा बसी 'जेनेरल स्टोर' खोलेका थिए। उनको व्यापार राम्रै चलेको थियो। छोराछोरी पढाउने खर्च पसलले धानेको थियो। तर, मधेसकेन्द्रित दलले नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसमा अनिश्चितकालीन आमहडताल गरेपछि उनको व्यापार चौपट भएको छ।
'व्यापार बन्द गरेको महिनादिन भयो, बन्द खुल्ने निश्चित नभएकाले खर्चको भार थेग्न नसकेर पसल बन्द गरेको छु,' यादवले भने, 'सानो र खुद्रा व्यापारीमा लामो बन्दको मार थेग्ने सामर्थ्य हुँदैन।'
राज्य र आन्दोलनकारी दुवै पक्ष गम्भीर नबन्दा मधेसमा आन्दोलन लम्बिएको स्थानीय बताउँछन्। सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष सुनीलकुमार महतोले साना व्यापारीले लामो मधेस बन्द र नाकाबन्दीका कारण दैनिक कामकाज गुमाएको बताए।
त्यसो त केही समयदेखि आन्दोलनकारीले बजारलाई खुकुलो पारेका छन्। तर, छोटो दूरीका सवारी साधन नचल्दा बजारमा ग्राहकको चहलपहल शून्यप्रायः छ। 'सवारी साधन नचल्दा ग्राहक बजारसम्म आउँदैनन्, व्यापार कसरी चल्छ?' उनले प्रश्न गरे, 'बन्दको हल खोज्न अझै अबेर भए व्यापारी व्यवसाय बन्द गरेर घरै बस्नुको विकल्प छैन।'
लहानका व्यापारी अशोकलाल आमात्य भन्छन्, 'बन्दले यहाँका व्यापारीलाई ऋणको भारीले थचक्कै पारिसक्यो। अब बन्द र नाकाबन्दीको छिटो समाधान नभए मधेसका उद्योगी व्यापारी मात्र नभई देशकै अर्थतन्त्र डामाडोल हुने निश्चित छ।'
उनले थपे, 'मलाई त के लाग्छ भने, हाम्रा राजनीतिक दलहरू विकास नहोस्, बन्दहडताल भइरहोस् भन्ने चाहन्छन्। प्रदेश बनिसकेपछि पनि मधेसी जातजातिबीच द्वन्द्व भएर यसको असर अर्थतन्त्रमा पर्ने हो कि भन्ने चिन्ता छ।'
प्राध्यापक नमोनारायण झाले आन्दोलनको माग राज्यले छिटो सम्बोधन गरी बन्द र नाकाबन्दीबाट मधेस र देशलाई निकास दिनुपर्ने बताए। उनले राज्यले मधेसको जनभावना समेट्न नसकिरहेको गुनासो पनि गरे। 'चार महिना लामो बन्दले मधेसको व्यापार र व्यापारीको जनजीवन चौपट भइसक्यो,' उनले भने।
बुद्धिजीवी विनोद साहले बन्दको विकल्प खोज्नुमै मधेसका व्यापारीको हितमा हुने बताए। 'अब अति भयो बन्द, जुन समुदायको मुक्तिका नाममा आन्दोलन गरियो, आज त्यही समुदाय पीडामा छ,' उनले भने।
प्रकाशित: २३ मंसिर २०७२ १९:४९ बुधबार