समाज

सरकारी अस्पतालमा सिटामोल मात्र

लहान–दमको दीर्घ रोगी सिरहा माडरका रघु यादव शनिबार थलिए।

घर परिवारले उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सिरहा पुर्‍याए। अस्पतालमा दमको औषधि सकिएको थियो । प्राथमिक उपचार गराएर परिवारले उनलाई थप उपचारका लागि धरान लगे।

स्पतरी लक्ष्मीपुरका रामकलादेवी यादवको दम चिसोका कारण एक्कसी बढ्यो । उनी शनिबार विहान घरमै असजिलो महसुस गरिन् । श्वास लिन अप्ठ्यारो भएपछि दिउँसो परिवारले उपचारका लागि लहान अस्पताल ल्याए । उनी अस्पताल पुग्दा अस्पतालका श्वास्थ्यकर्मी जुलुसमा हिडिँसकेका थिए । सहमकर्मी स्वास्थ्यकर्मीमाथि १३ दिन अगाडि राजविराजमा प्रहरीबाट भएको कुटपिटको घटनाको विरोधमा यहाँका स्वास्थ्यकर्मीहरु सेवा ठप्प पारेर जुलुसमा हिडेका थिए ।

सरकारी अस्पतालमा डाक्टर नभेटिएपछि उनलाई लहानकै निजी अस्पतालमा उपचारका लागि पु¥याए । अक्सिजन दिएर केही घण्टाको उपचार पछि उनको श्वासप्रश्वास क्रिया सहज बन्यो । उनी निजिक औषधि पसलमा औषधि किनेर घर फर्किइन ।

जिल्ला अस्पताल सहित मातहतका अस्पतालमा विरामी पुगेपनि स्वास्थ्यकर्मीको निःशूल्क सेवा बाहेक औषधिजन्य सामान विरामीलाई अस्पताल बाहिरको औषधि पसलबाटै खरिद गर्नुपर्छ । कारण सिटामोल र अल्बेन्डाजोल बाहेकका औषधि सरकारी अस्पतालमा छैन्।

जिल्ला अस्पताल सिरहाका सूचना अधिकृत राजबिर यादवका अनुसार महिना दिन भैसक्यो जिल्ला अस्पतालका खरिद भएको ७० प्रकारका औषधि पूर्व क्षेत्रीय मेडिकल स्टोरमा थन्किएको छ । बारम्वार जिल्ला प्रसाशन र मेडिकल स्टोरमा आपूर्तिका लागि ताकेता गर्दा पनि सुनवाई भएको छैन्। जसका कारण उपचारमा आउने विरामी कि त अन्यत्र पठाउनुपर्छ कि निजी औषधि पसलबाट विरामीले खरिद गर्नुपर्छ । निःशूल्क पाइने औषधि पनि बिरामीले निजीका औषधि पसलबाट महंगोमा किन्नु पर्ने बाध्यता छ।

सरकारी अस्पतालमा औषधि आपूर्ति हुन नसक्दा विपन्न विरामीहरुको उपचार महँगो बनेको छ । जसलाई धान्न उनीहरु थप आर्थिक भार बोक्नु परिरहेको यादव बताउँछन् । राति स्कर्टिङमा गाडी आउँछ तर औषधिको गाडी बिराटनगरबाट सिरहा आउन सकेको छैन,' यादवले भने।

सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर विके भन्छन्,'औषधिका गाडीको पूर्ण सुरक्षा दिन हामी तयार छौं।' उनले सुरक्षको ग्यारेन्टी गरेपनि किन आउन सकिरहेको छैन भन्डारन गरिएको औषधि ? कारण हो ढुवानीको जिम्मा । औषधि जिल्ला अस्पतालसम्म पु¥याउने जिम्मा क्षेत्रीय मेडिकल स्टोरकै भएको सूचना अधिकृत यादव बताउँछन् ।

नाकाबन्दी र बन्दका कारण सरकारी अस्पतालमा औषधिको हाहाकार हुँदाको फायदा निजी औषधि पसलले लुटिरहेको एक स्वास्थ्यर्कीले बताए । डाक्टरले विरामीलाई लेख्ने अधिकत्तर औषधि भारतीय कम्पनीको हुन्छ । अहिले भारतीय सीमामा जारी रहेको नाकाबन्दी र आमहडतालका कारण देखाउँदै निजी औषधि पसलले निर्धारित मूल्य भन्दा बढी रकम लिएर औषधि बेचिरहेको ती स्वस्थ्यकर्मीले बताए ।

आवश्यकता छ विरामीले जति मूल्य तिरेर भएपनि औषधि किनिरहेका छन्। यता, सप्तरीको राजविराजमा मंसिर ६ गते प्रहरीले स्वास्थ्यकर्मीमाथि हातपात गरेको भन्दै सोही दिनदेखि सप्तरी स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा ठप्प छ । सरकारी अस्पतालको सेवा १४ दिनदेखि बन्द रहँदा विरामीको उपचार सेवा प्रभावित बनेको छ। यसको असर छिमेकी जिल्ला सिरहाका सरकारी अस्पतालमा पनि परेको छ। यहाँका स्वास्थ्यकर्मी पनि हामी आन्दोलनमा छौं भन्दै सेवा प्रभावित पारेर बसेका छन् । स्वास्थ्यकर्मीहरु स्वास्थ्यक्षेत्रलाइ शान्ति क्षेत्रको ग्यारेन्टी गर्नुपर्ने, दोषि प्रहरीउपर कारबाही हुनुपर्ने लगायतका माग राख्दै आन्दोलित छन्।

प्रकाशित: २० मंसिर २०७२ ०५:३३ आइतबार