इटहरी चौरास्त चोकमा केही दिनअघि पूर्व राजा विरेन्द्र साहको शालिक राखिएपछि यतिबेला सर्वत्र आलोचना भइहेको छ। यही बेला इटहरीको चौरास्त चोकको नामाकरण थारु जातिलाई सम्मान हुने गरी राख्न दबाब बढेको छ।
जनता समाजवादी पार्टी नेपालले शनिबार एक पत्रकार सम्मेलन गरि थारु जातिलाई सम्मान हुने गरी नामाकरण गर्न माग गरेको हो। पार्टीका इटहरी अध्यक्ष डिल्ली सुब्बाले मेयर हेमकर्ण पौडेलले चोकको नामाकरण लोकतान्त्रिक गणतन्त्रको अवमूल्यान हुने किसिमले गरेको जिकिर गरे। ‘राजा रजौटाको मूर्ती राखे इटहरीवासीको अपमान हुने र उत्तेजित बनाउने कार्य हुनेछ, त्यसलाई सच्चयाउनुपर्छ,’ उनले भने, ‘इटहरी चौरास्त चोकको नामाकरण थारुहरुको सम्मान हुने गरी पहिचान झल्कने गरी गरिनुपर्छ।’
इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९–८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दा थारु जातिलाई प्रथम नागरिक घोषणा गरेको थियो। त्यही भएर थारु जातिलाई सम्मान हुने गरी नामाकरण गरिनुपर्नेमा समाजवादी पार्टीले जोड दिएका छ।
समाजवादी पार्टीले इटहरीका आम नागरिकले विश्वासका साथ विजयी गराएको मेयर पौडेल विरेन्द्रको शासिक राख्ने र विरेन्द्र चोक नामाकरण गर्ने बिषयमा प्रत्यक्ष लागेको प्रति दु:ख व्यक्त गरेको छ। समाजवादी पार्टीले निर्णय नसचिए चरणबद्द आन्दोलन गर्ने पत्रकार सम्मेलनमार्फत चेतावनी दिएको छ।
प्रकाशित: १८ असार २०७९ १५:४३ शनिबार