समाज

नेपाल–भारत सीमामा १२ फिट अग्लो पर्खाल लाउन माग

सङ्खुवासभा– खाँदबारीका स्थानीयले नेपाल–भारतबीच १ हजार ७ सय किलोमिटर सीमामा १२ फिट अग्लो पर्खाल लगाउन माग गर्दै सरकारलाई ज्ञापन पत्र पठाएका छन् ।दुई देशबीच खुला सीमाकै कारण नेपालमा विभिन्न आपराधिक समस्या देखिएको तथा भारतले विभिन्न बाहनामा नेपालमाथि पटकपटक नाकाबन्दी गर्दै आएको स्थानीयको ठहर छ ।
भारतको हेपाहा प्रवृत्तीबाट सँधैका लागि मुक्ति पाउन पनि सीमामा पर्खाल लगाउनु पर्ने मागसहितको हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारसमक्ष पत्र पठाएको स्थानीय जीवनाथ खनालले बताए ।

निश्चित स्थानबाट प्रवेशाज्ञासहित आवतजावत हुने व्यवस्था मिलाउन पनि ज्ञापनपत्रमार्फत माग गरिएको पनि उनले बताए। यसका लागि संयुक्त राष्ट्र संघ र अन्य मित्र राष्ट्रहरुको रोहवरमा नेपाल सरकारले तुरुन्त काम थाल्नुपर्ने उनीहरुको माग छ । यसका लागि आवश्यक पर्ने बजेटमध्ये हरेक नेपालीको भागमा पर्ने रकम आफूहरुकोतर्फबाट जम्मा गर्न तयार रहेको स्थानीयहरुले प्रतिवद्धता जनाएका छन्।

खनालका अनुसार ज्ञापनपत्रमा दुई देशबीच भएको सन्धि र सम्झौताहरु पुनरावलोकन गर्नसमेत माग गरिएको छ । त्यसअघि सबै सन्धि–सम्झौताका प्रावधानहरु स्थगन गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ। 'भूपरिवेष्ठित र विकट भौगोलिक धरातल भएको नेपालप्रति भारतले विगतदेखि गर्दै आएको व्यवहारबाट छिमेकी राष्ट्र मात्र भएको असल छिमेकी नभएको स्पष्ट हुन्छ,' ज्ञापनपत्रमा भनिएको छ ।

प्रकाशित: २१ कार्तिक २०७२ ०२:५२ शनिबार