समाज

बालेनले छाडेका प्रश्नहरू

‘बाग्मती प्रदेशले आयोजना गरेको “काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम” मा सहभागी भएर धेरै खुसी लाग्यो।’ हँसिलो सङ्केतसहित काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साहले सोमबार सामाजिक सञ्जालमा ‘स्टाटस’ पोस्ट गरे पनि उनी खुसी भने पटक्कै थिएनन्।  

नत्र तीन दिने बैठकमा सहभागी हुन आइतबार नै हेटौंडा पुगेका बालेन्द्र साह (बालेन) र सुनिता डंगोल एकदिन मात्र बैठकमा सहभागी भएर सोमबार बेलुका ५ बजे नै काठमाडाैं फर्किंदैनथे। मेयर साहले स्पष्टीकरण दिँदै काठमाडौं र काठमाडौंवासीसँग सम्बन्धित नभएको कार्यक्रममा काठमाडौंवासीलाई गाली गरी समय र ऊर्जा खर्चिएका कारण बैठक छाडेर आएको बताए।  

‘मलाई व्यक्तिगत रूपमा आलोचना वा गाली गर्न पाइयो,’ उनले विज्ञप्तीमार्फत् भनेका छन्, ‘तर काठमाडौं र काठमाडौंवासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौंलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने? मेरो प्रश्न यति हो।’ गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ/कार्यक्रममा बस्ने औचित्य नदेखेरे कार्यक्रम छाडेको उनले प्रस्टीकरण छ।  

बालेनले हेटांैडाको कार्यक्रम बीचमै छाडेर निस्किएपछि यसबारे टीकाटिप्पणी सुरु भएको छ। कसैले उनले ठीक गरेको प्रतिक्रिया दिएका छन् भने कसैले बसेर पूरै कुरा सुन्नुपर्ने धारणा राखेका छन्। बालेनले सोमबार हेटांैडाको कार्यक्रम मात्र छाडेनन्, जसले जे भने पनि सहने तर नसुध्रिने परम्परागत राजनीति गर्दै आएको माहोलमा थुप्रै प्रश्न पनि छाडेको मनोसामाजिक परामर्शदाता डा. नम्रता पाण्डे बताउँछिन्।  

बालेन मानवीय स्वभावअनुसार चलेको पाण्डेको बुझाइ छ। ‘कसैले भनेका कुरामा सहमत हुन नसकेपछि असहमति जनाउनु स्वाभाविक हो,’ पाण्डेले भनिन्, ‘अतिथि भएर गएकाले उपेक्षा भएको महसुस गरेपछि बस्नैका लागि त्यहाँ बस्नु ठीक हुँदैन।’ पछिल्लो समय नेपाली राजनीतिमा हराउँदै गएको मानवीय संवेदना र आत्मसम्मानले बालेनमार्फत् थोरै भए पनि जीवन्तता पाएको उनले सुनाइन्।  

समाजशास्त्री टीकाराम गौतमले भने नेतृत्व गर्नेले आवेशमा आउनुभन्दा पनि समग्र विषयको अध्ययन गरेर अगाडि बढ्नुपर्ने बताउँछन्। ‘सधंै आफूले सोचेजस्तो अर्कोले भन्दैन,’ उनले भने, ‘कुन परिपेक्षमा किन भन्यो भनेर त्यसको अध्ययन गरेर अगाडि बढ्नु जरुरी छ।’ बालेनले पनि समयअनुसार आफूलाई अगाडि बढाउनुपर्ने उनको बुझाइ छ।

त्यस्तै राजाराम परियार भने बालेनले सबैको विश्वास लिएर सफलताको बाटोमा हिँड्नुपर्ने भएकाले आवेगमा आउन नहुने सुझाउँछन्। ‘जे गर्नुभयो, ठीक गर्नुभयो तर तपाईंलाई एकपटकलाई छुट छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ अर्कोपटक यस्तै कार्यक्रम रहे सबैका कुरा सुन्नुहोला, आवेशमा नआउनुहोला। तपाईंप्रति धेरैका आशा र भरोसा छन्। यही विश्वास लिएर सफलता प्राप्त होस्।’

बालेनले कसले, काठमाडौंलाई के भने भनेर नखुलाए पनि बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले काठमाडौंको फोहोर काठमाडौंमै व्यवस्थापन गर्नुपर्ने कुरा बताउँदै गर्दा उनले आफूमाथि उपेक्षा भएको महसुस गरेको अनुमान छ।  

उक्त कार्यक्रममा अर्थमन्त्री जम्कट्टेलले काठमाडौंवासीले गरेको फोहोरको जिम्मा नुवाकोट र धादिङले लिन नसक्ने बताएका थिए। उनले काठमाडौंको फोहोर बञ्चरेडाँडामा व्यवस्थापन गर्न नहुनेसमेत तर्क गरेका थिए। तर आफ्नो कुराकै कारण राजधानीका मेयरले कार्यक्रम छाडेकोजस्तो नलागेको उनको बुझाइ छ।  

पछिल्लो समय बालेनको चर्चा यतिमै रोकिएको छैन। पत्रकारसँग नराम्रो ढंगबाट प्रस्तुत भएको कुरा पनि आएको छ। समाचार सङ्कलनको क्रममा आफूमाथि नराम्रो व्यहवार भएको पत्रकारको भनाइ छ।  

यता सामाजिक सञ्जालमा यो घटनाको पनि निकै प्रतिक्रिया आएको छ। कसैले बालेनमा सत्ताको मात चढेको बताएका छन् भने कसैले पत्रकारले बालेनलाई काममा अवरोध गर्न लागेको आरोप लगाएका छन्। एकले अर्कालाई बुझ्न नसक्नु पनि समस्याको मूल कारण भएको कतिपयको बुझाइ छ।  

काठमाडाैं महानगरपालिकामा कार्यभार सम्हालेलगत्तै मेयर साहले ‘पत्रकारले चाहिँ हाम्रा कुरा बुझ्न कति समय लाग्ने हो भन्दै’ प्रतिप्रश्न गरेका थिए। यो प्रश्न बालेनको हकमा पनि उत्तिकै लागु हुन्छ। बालेनले पनि पत्रकार र नेतालाई बुझ्न कति समय लाग्ने हो?

प्रकाशित: ४ असार २०७९ ०१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App