समाज

नुवाकोटका ८० बाढी प्रभावितलाई काठमाडौं ल्याइयो, एम्बुलेन्सको माग घट्दो

काठमाडौं महानगरपालिकाले बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार र उपचारमा सहजीकरणलाई निरन्तरता दिएको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद्को सुरुवाती अवस्थादेखि नै आवश्यकताअनुसार फिल्डमै पुगेर सहयोग र समन्वय गरिरहेको बताएकी छन्।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको विपद् व्यवस्थापन हेल्प डेस्कको कार्यक्रममा बोल्दै उनले थप भनिन्,' विपद्को पहिलो दिनको तुलनामा अहिले एम्बुलेन्सको माग क्रमशः घट्दै गएको छ। यद्यपि अन्य प्रकारका सहयोगको माग भने बढिरहेको छ।'

'महानगरले बाढी प्रभावितका लागि सातवटा एम्बुलेन्सलाई छुट्टै परिचालन गरेको छ। तीमध्ये पाँचवटा प्रभावित क्षेत्रमा खटिएर बिरामीलाई अस्पताल पुर्‍याइरहेका छन् भने दुईवटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिचालन गरिएको छ', डंगोलले थप भनिन्।

विमानस्थलमा राखिएका एम्बुलेन्सले बाढी प्रभावित क्षेत्रबाट हवाई उद्धार गरी काठमाडौं ल्याइएका गम्भीर अवस्थाका बिरामीलाई सम्बन्धित अस्पतालसम्म पुर्‍याउने काम गरिरहेका छन्।

काठमाडौं महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा १०२ नम्बरमार्फत उपत्यकाभर निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ।

यसैबीच महानगरपालिकाले केही दिनदेखि नुवाकोटबाट काठमाडौं आउन चाहने बाढी प्रभावितका लागि निःशुल्क यातायात सेवा पनि सञ्चालन गरिरहेको छ। डंगोलका अनुसार पहिलो दिन १९ जना, दोस्रो दिन २९ जना र तेस्रो दिन ३२ जनालाई काठमाडौं ल्याइएको थियो।

तीन दिनमा गरी नुवाकोटबाट ८० जना बाढी प्रभावितलाई उद्धार गरी काठमाडौं ल्याइएको महानगरपालिकाले जनाएको छ।

प्रकाशित: १४ भाद्र २०८३ १४:०० आइतबार