गत आर्थिक वर्ष २०८२/८३ मा देशभरबाट हराएका ८ हजार ७२४ बालबालिकामध्ये ९६ प्रतिशत अर्थात् ८ हजार ४३८ जना फेला परेका छन्।
बालबालिका खोजतलास समन्वय केन्द्र- १०४ को वार्षिक प्रगति विवरण अनुसार हराएकामध्ये अब २८६ जना बालबालिकाको खोजतलास जारी छ।
हराएका बालबालिकाको खोजी र पारिवारिक पुनर्मिलनलाई थप प्रभावकारी बनाउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘हराएका बालबालिका खोजतलास तथा पारिवारिक पुनर्मिलन वर्ष-२०८३’ विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ।
केन्द्रको विवरण अनुसार सोही अवधिमा ३८४ जना बेवारिसे बालबालिकाको उद्धार गरिएको छ। जसमध्ये २९५ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ भने ७९ जना संरक्षण गृहमा रहेका छन्।
यस्तै १८६ जना सडक बालबालिकाको उद्धार गरी ८१ जनालाई परिवारमा फर्काइएको छ भने जोखिमपूर्ण श्रममा रहेका ४५ जनामध्ये ३२ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ।
मन्त्रालयले बालबालिकाको उद्धारमा मात्र सीमित नभई उनीहरूको सुरक्षित भविष्यका लागि ‘सडक बालबालिका मुक्त नेपाल’ अभियानसमेत अघि बढाउने जनाएको छ।
स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला संस्थाहरूसँगको समन्वयमा बालबालिकाको खोजी, उद्धार, संरक्षण र पुनःस्थापनालाई एकीकृत प्रणालीका रूपमा अघि बढाउने मन्त्रालयको नीति छ।
प्रकाशित: २८ श्रावण २०८३ २१:०२ बिहीबार