समाज

शिक्षा र मानविकी मोह घट्दो

काठमाडौं-अध्ययनहरुका अनुसार प्लस टुका विद्यार्थीले बिस्तारै शिक्षा र मानविकी संकाय पढ्नमा रुचि घटाएको देखिन्छ। उच्च माध्यमिक शिक्षा परिषदको छ वर्षसम्मको तथ्यांक अनुसार कक्षा ११ मा भर्ना हुनेको संख्याले यस्तो देखिएको हो।


२०६५ सालमा विज्ञान संकायमा त्यो वर्ष एसएलसी पास ९.७९ प्रतिशत विद्यार्थी भर्ना भएका थिए। सोही संकायमा २०६६ मा ८.९३, २०६७ मा ९.१२, २०६८ मा १०.७४, २०६९ मा १२.५२ र २०७० मा १४.६६ प्रतिशत विद्यार्थी कक्षा ११ मा थिए। यसले बिस्तारै विज्ञान संकाय पढ्न रुचि राख्ने विद्यार्थीको संख्या बढिरहेको देखाउँछ।
ती वर्षमा व्यवस्थापन संकायमा पनि विद्यार्थी बढिरहेको तथ्यांक छ। २०६५ मा १९.९८ प्रतिशत र त्यसपछि २०६६ देखि २०७० सम्म क्रमशः ३४.७८ प्रतिशत, ३३.८७ प्रतिशत, ३८.३४ प्रतिशत, ४२.१४ प्रतिशत र ४५.६० प्रतिशत रहेको देखिन्छ।
विज्ञान र व्यवस्थापन संकाय प्रत्यक्ष रुपमा विकाससँग जोडिएको हुँदा नेपालजस्तो विकासशील देशमा यो स्वाभाविक रहेको विश्लेषक पनि बताउँछन्। बैंकिङ क्षेत्र र प्राविधिक क्षेत्रमा विद्यार्थीको रुचि बढ्नुले पनि यसलाई सहयोग गरेको शिक्षाविद बासुदेव काफ्लेको बुझाइ छ।
त्यसैगरी शिक्षा संकाय आफैंमा घटेको छैन। तर विज्ञान र व्यवस्थापनको तुलनामा घटेको देखिन्छ। यो छ वर्षको पहिलो तीन वर्ष क्रमशः ३९.३८ प्रशित, ४३.२३ प्रतिशत, ५१.४५ प्रतिशत शिक्षामा विद्यार्थीको उपस्थिति बढिरहेको देखिन्छ भने २०६८, २०६९ र ७१ मा क्रमशः ४२.२७ प्रतिशत, ३६.७१ प्रतिशत र ३३.३६ प्रतिशत भएर घटेको देखिन्छ।
एलएलसी पास भएमध्ये २०६५ सालमा मानविकीमा ३०.३८ प्रतिशतको सहभागिता रहेकामा २०६६ मा १३.०६ प्रतिशत देखिन्छ। त्यसपछि ह्वात्तै घटेर २०६७ मा ५.५६, त्यसपछि केही बढेर २०६८ मा ८.६५ र २०६९ एवं २०७० मा क्रमशः ८.६३ र ६.३८ प्रतिशतमा झरेको देखिन्छ।
'शिक्षा पढेर तुरुन्तै जागिर पाइने आसले पनि धेरै घटेको देखिँदैन,' काफ्लेले भने, 'मानविकीमा वैचारिक र समालोचना सम्बन्धी कुरा बढी हुने भएकाले हाम्रो जस्तो विकासशील देशलाई यसको खासै आवश्यकता देखिँदैन। विकाससँग सिधै सम्बन्धित भएर विज्ञान र व्यवस्थापनमा नै विद्यार्थीको उपस्थिति बढी देखिन्छ।'
अहिलेको समयमा मानविकी र शिक्षा संकाय आफैंमा धेरै उपयोगी नभएकाले पनि यस्तो कारण देखिएको उनको बुझाइ छ। 'अहिले भइरहेका विकासनिर्माणमा व्यवस्थापकीय र प्राविधिक ज्ञानको बढी प्रयोग भइरहेको छ,' उनले भने, 'विज्ञानको सम्भावना विकसित देशमा बढी देखिन्छ। प्लस टु नै पढेर धेरै सम्भावना नेपालीलाई नदेखिए पनि पछि स्नातक स्तरमा सहयोग पुग्ने भएकाले माग बढी भइरहेको छ।'
मानविकीलाई व्यावहारिक विज्ञानका रुपमा मान्न छाडिएकाले पनि विद्यार्थीको उपस्थिति कक्षामा अन्य संकायभन्दा निकै कम देखिने विश्लेषक बताउँछन्। 'मानविकीमा वैचारिक र समालोचनात्मक विषयसँग विद्यार्थी बढी जोडिन्छन्,' उनले भने, 'अब योबिना पनि जीवन सम्भव हुन सक्छ। त्यसैले विद्यार्थी विकाशशील संकायतिर बढिरहेको देखिन्छ।'
त्यसैले मानविकी र शिक्षा संकायमा विद्यार्थीको रुचि घट्नुलाई शिक्षा क्षेत्रले नराम्रो नमानेको कतिपयको धारणा छ। 'यी संकायमा विद्यार्थी संख्या घट्नु राम्रो हो,' अर्का शिक्षाविद तीर्थ खनिया भन्छन्, 'घरनजिकै प्रायः विद्यालय शिक्षा र मानविकी भेटिनाले विद्यार्थीले पढ्ने गरेका थिए। सायद बिस्तारै उनीहरुले विषय छान्ने मौका पाइरहेका छन्।'
त्रिभुवन विश्वविद्यालयले समेत मानविकी संकायका कतिपय विषयलाई महत्व दिन छाडेकाले पनि विद्यार्थी प्राविधिक वा अन्य क्षेत्रतिर आकर्षित भएको उनको बुझाइ छ। 'मार्केटमा व्यवस्थापन र विज्ञानका विद्यार्थीको माग बढिरहेका कारण विद्यार्थी आकर्षित भइरहेका हुन्,' उनले भने, 'त्यसैले मार्केटले जस्ता जनशक्ति खोज्यो तिनैको बढी माग हुन्छ। त्यसैले विज्ञान र व्यवस्थापन पढेका जनशक्तिको खाँचो छ।'
शिक्षा क्षेत्रमा १८ वर्ष बिताएका उच्च माध्यमिक विद्यालय संघ (हिसान) काठमाडौं जिल्लाका निवर्तमान अध्यक्ष स्वागत श्रेष्ठले सिए तथा बैंकिङ र प्राविधिक क्षेत्रमा रुचि राख्नेका कारण मानविकी र शिक्षा क्षेत्रमा विद्यार्थीको उपस्थिति घटिरहेको बताए। 'धेरै नम्बर ल्याउनेको रोजाइ नै विज्ञान पनि हुने गरेको छ। त्यसपछि व्यवस्थापन दोस्रो रोजाइ बनेको छ,' उनले भने, 'त्यसबाहेक शिक्षा र मानविकी चाहिँ सरकारी विद्यालयमा बढी रहेकाले विद्यार्थीको उपस्थिति रहिरहेको छ।'
त्यसबाहेक कम नम्बर ल्याउने मानविकी र शिक्षामा रहेका कारण संख्या यत्तिको रहेको उनले बताए। 'शिक्षा र मानविकी पढेर विद्यार्थी कमै पास हुने गर्छन्,' उनले भने, 'शिक्षा पढ्नेहरु पढेर अध्यापन पेसामा लाग्न सजिलो मान्छन्। फलस्वरुप कम अंक आएरै उनीहरु पास गर्छन् र कतिपयले पढाउने गर्छन्।'
नेपालमा भूकम्प आएका कारण अब पुनर्निर्माणका लागि सिभिल इन्जिनियरको खाँचो पर्ने उनले बताए। 'विकासनिर्माणमा इन्जिनियरको खाँचो छ,' उनले भने, 'विकासका लागि पुनर्निर्माण गर्ने सिभिल इन्जिनियरहरुको संख्या देशलाई धेरै चाहिन्छ।' नेपालजस्तो देशमा शिक्षा संकाय निकै बलियो हुनुपर्नेमा कमजोर विद्यार्थी र कमजोर नतिजा ल्याउने विद्यार्थीले नै भविष्यमा पढाउने पेसा अँगाल्ने हुँदा यो क्षेत्रको शैक्षिक गुणस्तर सधैं निराशाजनक हुने उनको भनाइ छ।

प्रकाशित: ९ असार २०७२ ००:२२ बुधबार