नेपाल प्रहरीका सयौं कार्यालय अझै आफ्नै भौतिक संरचनाविहीन अवस्थामा सञ्चालन भइरहेका छन् ।
प्रहरीको वार्षिक कार्यप्रगति विवरणअनुसार देशभरका २ हजार ६६० स्वीकृत प्रहरी इकाइमध्ये ७७६ वटा इकाइको आफ्नै कार्यालय भवन छैन । प्रहरीका अनुसार १ हजार ८८४ इकाइसँग आफ्नै कार्यालय भवन छ । तर ३६३ इकाइ भाडाका भवनमा सञ्चालन भइरहेका छन् भने ४१८ इकाइ अन्य सरकारी निकायका भवनमा आश्रित छन् ।
प्रहरीको भौतिक संरचनातर्फ ब्यारेकको अवस्था पनि कमजोर देखिएको छ । २ हजार ६६० स्वीकृत प्रहरी इकाइमध्ये १ हजार ८२५ ठाउँमा मात्रै ब्यारेक रहेको छ । ८३५ ठाउँमा ब्यारेक छैन । त्यस्तै १ हजार ८३५ इकाइमा मेस रहेकोमा ८२५ इकाइमा मेसको संरचना छैन । प्रहरीको आफ्नै जग्गा भएको इकाइ १ हजार ९८६ रहेको छ भने ६७४ इकाइसँग आफ्नै जग्गा छैन ।
यसैबीच, नयाँ प्रहरी इकाइ स्थापना र स्तरवृद्धिका लागि ठूलो संख्यामा माग आएको प्रहरीले जनाएको छ । नयाँ स्थापना गर्न ९७० स्थानबाट माग आएको छ, जसका लागि १७ हजार १०० जनशक्ति आवश्यक पर्ने देखिएको छ । त्यस्तै ४६१ प्रहरी इकाइको स्तरवृद्धिको माग आएको छ । त्यसका लागि थप ११ हजार २८६ जनशक्ति आवश्यक पर्ने प्रहरीको विवरणमा उल्लेख छ ।
प्रकाशित: २३ श्रावण २०८३ ०६:५८ शनिबार