समाज

नौमती बाजा संरक्षण अभियानमा बाहुन-क्षेत्री समुदायका महिला

एक समय भनिन्थ्यो, ‘बाहुनहरुले बाजा छुनै हुँदैन, बिहेमा बाजा बजाउने त तल्लो जातिले मात्र हो।’ तर, यस्तो गलत परम्परागत सोचमा परिवर्तन ल्याउँदै नौमती र पञ्चे बाजा संरक्षणमा जुटेका छन् इटहरीका बाहुन–क्षेत्री समुदायका महिला।

लोप हुँदै गएको नौमती बाजाको संरक्षण र सम्वद्र्धनमा यहाँका महिला जुटेका हुन्। अहिले बाहुन र क्षेत्री समुदायका महिला विवाह, ब्रतबन्ध तथा शुभकार्य हुँदा मिलेर नौमती र पन्चेबाजा बजाउने गरेका छन्। नेपाली समाजमा गरिने मांगलिक कार्यमा नौमती बाजा घन्काएपछि उक्त कार्यको रौनक अर्कै हुने गर्दछ।

कोरोना कहरका कारण लकडाउन भएको समयमा केही महिलाहरु मिलेर नौमती र पञ्चे बाजा बजाउन सिकेर अभियान थालेको नौमती–पञ्चे बाजा महिला समूह इटहरीकी संयोजक तारादेवी निरौला न्यौपानेले बताइन्। ‘एक हप्ता सिकेपछि बजाउन सकिन्छ भन्ने लागेर निरन्तरता दिएका हौ,’ उनले भनिन्।  

उनका अनुसार बाहुन र क्षेत्री समुदायका महिला मिलेर अभियान थालेपछि पञ्चेबाजा बजाउनेहरुलाई समाजमा हेर्ने दृष्टिकोण अझैपनि परिवर्तन नभएको अनुभव सुनाइन्। उनले सुरुवात गर्दा परिवारबाट पनि सहयोग नपाएको गुनासो गरिन्।  

बाहुन–क्षेत्रीले त्यसमा पनि महिलाहरुले छुन समेत हुँदैन भन्ने मान्यतालाई चिर्न सुरुसुरुमा समस्या भएपनि अहिले आएर आफूहरुले नौमती र पञ्चे बाजा बजाएको देख्नेहरु भने केही हदसम्म प्रसंसा  गर्न थालेको समुहकी अर्की सदस्य शशि निरौला दाहाल बताउँछीन्। 

‘बाजा संरक्षण र केही आम्दानी समेत गर्न सकिन्छ भनेर सिकेको भएपनि अहिले आएर धेरै तिर बोलाउन थालेका छन,’ उनले भनिन्। इटहरी तथा आसपासका क्षेत्रमा विभिन्न शुभ साइतको लागि नौमती र पञ्चे बाजा बजाउने कामका लागि महिलाहरुलाई सम्झन थालिएको छ। ‘आफनो संस्कृति जोगाउन जुटेका महिला समूहलाई प्रोत्साहन गर्न आफुले पनि महिला समुहको पञ्चे बाजाका लागि अनुरोध गरेर पुराणको शोभा यात्रामा बोलाए,’ इटहरी निवासी व्यवसायी शिवप्रसाद घिमिरले भने।  

नौमती र पञ्चे बाजा महिला समुहमा २५ जना महिला आवद्ध छन्। यसरी महिलाहरु संगठित भएर लोपन्मुख बन्दै गरेको बाजा संरक्षणमा जुटेर अन्य लोपन्मुख बन्दै आएको नेपाली कला ,संस्कृति संरक्षणमा जुट्न सन्देश समेत इटहरीका महिलाहरुले दिएका छन्।

प्रकाशित: १५ फाल्गुन २०७८ ०४:३४ आइतबार