काठमाडौं- सुरक्षित वातावरणमा विश्वस्तरीय विश्वविद्यालयमा पढ्न पाउने भएकाले पछिल्लो समय न्युजिल्यान्ड नेपाली विद्यार्थीको रोजाइमा पर्न थालेको छ। न्युजिल्यान्डमा विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षामा सरकारी लगानी छ।
सर्वसुलभ शुल्क र बहुसांस्कृतिक देश भएकाले नेपाली विद्यार्थीले उच्च शिक्षाका लागि न्युजिल्यान्ड रोजेको शिक्षा मन्त्रालयका उपसचिव नन्दलाल पौडेलले जनाए। 'प्राविधिक र पेसागत शिक्षालाई न्युजिल्यान्ड सरकारले प्राथमिकता दिएको छ, पढाइसँगै कामलाई समेत निरन्तरता दिन पाउने वातावरण छ,' पौडेलले नागरिकसँग भने, 'छोराछोरीको शैक्षिक लगानी र करियर सुरक्षित भएकाले अभिभावकको समेत प्राथमिकतामा न्युजिल्यान्ड परेको हो।'
मन्त्रालयका अनुसार बर्सेनि पाँच सय हाराहारीमा नेपाली विद्यार्थीले न्युजिल्यान्डमा उच्च शिक्षा पढ्न नोअब्जेक्सन लेटर लिइरहेका छन्। मन्त्रालयको वैदेशिक अध्ययन अनुमति व्यवस्थापन शाखाका अनुसार यस वर्ष पुस मसान्तसम्म १५ हजार ८६ विद्यार्थीले ६५ देशमा अध्ययनका लागि नोअब्जेसक्न लेटर लिएका छन्। जसमध्ये न्युजिल्यान्डका लागि मात्रै ४ सय ८६ विद्यार्थीले नोअब्जेक्सन लेटर लिएको उपसचिव पौडेलले बताए।
तीन वर्षयता उच्च शिक्षाका लागि न्युजिल्यान्ड जाने विद्यार्थी संख्या बढिरहेको छ। ०६८ मा ५७ विद्यार्थीले नोअब्जेक्सन लेटर लिएका थिए भने ०६९ मा यो संख्या ह्वात्तै बढेर २ सय १७ पुग्यो। ०७० मा २ सय ७० ले नोअब्जेक्सन लेटर लिए।
शैक्षिक लगानी सुरक्षित हुने भएकाले न्युजिल्यान्ड रोज्न थालेको विद्यार्थीको भनाइ छ। 'आफूले गरेको लगानी सुरक्षित हुने थाहा पाएपछि उच्च शिक्षाका लागि न्युजिल्यान्ड जान लागेको हुँ,' शिक्षा मन्त्रालय छात्रवृत्ति शाखामा भेटिएका सुनिल रेग्मी भन्छन्, 'प्लस टु पास गरेका नेपाली विद्यार्थीले न्युजिल्यान्डमा दुईवर्षे डिप्लोमा कोर्ष पूरा गर्नासाथ एक वर्ष जब सर्च भिसाको व्यवस्थाले उत्साहित बनायो।' काठमाडौंका रेग्मीले थपे, 'न्युजिल्यान्डमा विश्वका उत्कृष्ट विश्वविद्यालय तथा प्राविधिक कलेज छन्। त्यहाँको विश्वविद्यालयबाट हासिल गरेको शैक्षिक प्रमाणपात्र विश्वबजारमा बिक्छ। रोजगारीको राम्रो अवसर छ।' विज्ञानका विद्यार्थी रेग्मी आइटी अध्ययनका लागि न्युजिल्यान्ड जाने तयारीमा छन् ।
सर्वसुलभ शुल्कमा विद्यार्थीले विश्वका उत्कृष्ट विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गर्ने भएकाले नेपाली विद्यार्थीको आकर्षण बढ्दै गएको कंगारु एजुकेसन फाउन्डेसनका प्रबन्ध निर्देशक महेशबाबु तिमल्सिनाले बताए।
अस्ट्रेलिया महाद्वीपमा रहेको न्यूजिल्यान्ड ह्युमन इन्डेक्समा माथि छ। विकिपिडियाका अनुसार न्युजिल्यान्डमा आठ सरकारी विश्वविद्यालय छन्। विश्वका पाँच सय उत्कृष्ट विश्वविद्यायमध्ये ६ वटा न्युजिल्यान्डमा पर्छ। १८ वटा सरकारी पोलिटेक्निकल कलेज छन्।
आइटी, होटल व्यवस्थापन, एकाउन्टिङ, नर्सिङ, टुरिज्म, व्यवस्थापन, बिजनेस, इन्जिनियरिङ, हेल्थ साइन्सलगायत विषय पढ्न विद्यार्थीले न्युजिल्यान्ड रोज्ने गरेका छन्। सरकारले प्राविधिक र सीपमूलक शिक्षालाई प्राथमिकतामा राखेको निर्देशक तिमल्सिनाले बताए।
न्युजिल्यान्ड सरकारको शिक्षा नीतिअनुसार विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई १–१० लेभलमा पूरा हुन्छ। लेभल १–३ सम्म १३ वर्षको स्कुल शिक्षा पूरा हुन्छ। लेभल ४ मा सर्टिफिकेट र तालिम कोर्ष पूरा हुन्छ। लेभल ५, ६ र ७ मा डिप्लोमा कोर्ष पूरा हुन्छ। लेभल ७ पास भएमात्र स्नातक कोर्ष पूरा हुन्छ।
लेभल ८ पोस्ट ग्रेजुएसन डिप्लोमा कोर्ष हो। स्नातकोत्तर तह प्रवेशका लागि आवश्यक कोर्ष पूरा गर्नुपर्छ। यसैगरी लेभल ९ पार गरेको विद्यार्थीलाई स्नातकोत्तर उपाधि प्राप्त हुन्छ भने लेभल १० पास गरे विद्यावरिधि सकिन्छ।
शैक्षिक परामर्श संघ नेपाल (इक्यान) का महासचिवसमेत रहेका तिमल्सिनाले एक दशकदेखि न्युजिल्यान्डमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएका छन्। उनका अनुसार कृषि, काठ अध्ययन, वाइन मेकिङ र मत्स्यपालन क्षेत्रमा समेत अध्ययन गराइने भएकाले सीपमुलक र प्राविधिक शिक्षा हासिल गरेकाले सजिलै रोजगारी पाउँछन्।
'नेपालबाट प्लस टु उत्तीर्ण विद्यार्थीले न्युजिल्यान्डमा लेभल ५ र ६ पूरा गर्नसाथ एक वर्षको जब सर्च भिसा प्राप्त गर्छन्,' तिमल्सिनाले भने, 'विद्यार्थीले कम समयमै गुणस्तरीय शिक्षा पाउँछन्।' उनले थपे, 'दुईपटकसम्म जब सर्च भिसा पाउने भएकाले रोजगारी निश्चित हुन्छ।'
यसैगरी स्नातक पास विद्यार्थीले उच्च शिक्षा हासिल गर्न चाहेमा शैक्षिक योग्यता र कामको अनुभवका आधारमा सोझै लेभल ९ अर्थात पोस्ट ग्य्राजुएसन कोर्ष नगरिकनै मास्टर्स पढ्न पाउने सरकारी व्यवस्था छ। यो अवस्थामा समेत विद्यार्थीले एक वर्षको जब सर्च भिसा पाउँछन्।
विश्वका सयभन्दा बढी देशमा बर्सेनि ७५ हजार विद्यार्थी उच्च शिक्षा हासिल गर्न न्युजिल्यान्ड जाने गरेको वेबसाइटमा छ। जब सर्च भिसा पाएकालाई न्युजिल्यान्ड सरकारले पिआर भिसाको व्यवस्था सहज बनाएकाले अभिभावकको आकर्षण न्युजिल्यान्ड बनेको हो।
पढाइसाथै कामलाई समेत निरन्तरता दिने व्यवस्थाले विद्यार्थीलाई आकर्षित बनाएको छ। बिदाको दिन पूरा समय र अन्य दिन साताको २० घन्टा काम गर्ने व्यवस्थाले न्यूजिल्यान्ड गन्तव्य बन्दै गएको मोडेल ग्लोबल भिषाज कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत रोबिनजंग क्षेत्रीले जनाए।
'पढाइसँगै कामको राम्रो अवसर भएकाले न्युजिल्यान्ड विद्यार्थीको रोजाइ बन्दै गएको हो,' कार्यकारी अधिकृत क्षेत्रीले भने, 'विदेश अध्ययन गर्न जाँदा विद्यार्थीले पनि सम्बन्धित देशको वातावरण, विश्वविद्यालय, कोर्ष, शुल्क आदिबारे पूर्ण विवरणको स्वअध्ययन गर्नुपर्छ।'
विदेशी विद्यार्थीको लगानी र शैक्षिक सुरक्षाको जिम्मेवारी लिन सरकारले नै ट्युसन प्रोटेक्सन स्किम व्यवस्था गरेकाले विद्यार्थीको आकर्षण न्युजिल्यान्ड बनेको कान्तिपुर इन्टरनेसनल ओपन एजुकेसनका प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठ बताउँछन्।
विश्वविद्यालयमा शुल्क तिर्ने विद्यार्थीको भिसा कन्फर्म हुने व्यवस्थाले लगानी सुरक्षित बनाएको छ। 'शैक्षिक योग्यता राम्रो, आर्थिक पक्ष बलियो र पढ्ने इन्टेन्सन भएका विद्यार्थीले भिसा पाउँछन्,' कार्यकारी अधिकृत श्रेष्ठ भन्छन्, 'विद्यावारिधि गर्न चाहनेे अन्तर्राष्ट्रिय विद्यार्थीका लागि न्युजिल्यान्ड सरकारले राष्ट्रिय शुल्कमै अध्ययनको व्यवस्था मिलाएको छ।' उनले थपे, 'अंग्रेजी भाषी देश भएकाले विद्यार्थीलाई शिक्षा हासिल गर्न र स्थानीय वातावरणमा समायोजन हुन निकै सजिलो छ।'
न्युजिल्यान्ड फास्ट मार्केट नभएकाले विद्यार्थीले जानासाथ काम पाउँदैनन्। करिब ५–६ सातापछि मात्र पार्टटाइम काम पाउन सक्छन्। प्राविधिक शिक्षा सस्तो र विश्वविद्यालय शिक्षा महँगो भएकाले विद्यार्थीले आर्थिक चुनौती सामना गर्नुपर्ने कंगारु एजुकेसनका महेशबाबु तिमल्सिनाले बताए।
लेभल ८ पास गरेपछि मात्र डिपेन्डेन्ट लान पाउने भएकाले यसबारे पहिल्यै तयार हुनुपर्ने तिमल्सिना बताउँछन्। अध्ययनका लागि न्युजिल्यान्ड जाँदा नेपालमा आधिकारिक शैक्षिक परामर्शदातासँग मात्र परामर्श लिनुपर्ने मोडेल ग्लोबल भिसाजका कार्यकारी अधिकृत रोबिन क्षेत्रीको भनाइ छ। उनले झोले शैक्षिक परामर्शदातासँग विद्यार्थी सावधान हुुनुपर्ने बताए। 'न्युजिल्यान्डका लागि इमिग्रेसनको राम्रो जानकार शैक्षिक परामर्श दातासँग परामर्श लिँदा विद्यार्थी ठगिँदैनन्,' उनले भने, 'अभिभावक र विद्यार्थीले विश्वविद्यालय, शैक्षिक जानकारी र आर्थिक खर्च व्यवस्थापनबारे पूर्ण जानकारी लिएर जाँदा उपयुक्त हुन्छ।'
प्रकाशित: २६ माघ २०७१ ००:४३ सोमबार