समाज

भग्वान भेट्ने आशमा ठगिएका भन्छन्: ‘सुन,पैसा नदिए शिवजी खुसी हुँदैनन्, तिमीहरू मर्छौं’ भनेर तर्साए

भग्वान भेट्ने आशमा ठगिए

आफूमा दैवी शक्ति भएको, महामानव र ईश्वरको रूपलगायत उपमा दिएर सुनसरीको बराह क्षेत्र नगरपालिका–६ जब्दी जलपाईमा ज्योतिष शिव सेवा केन्द्र सञ्चालन गर्ने टीकाप्रसाद विश्वकर्मा र उनका सहयोगीमाथि ठगीको आरोप लागेको छ। उनीहरूले सयौं सर्वसाधारणलाई ठगी गरिरहेको भन्दै पूर्वचेला एवं भक्तजनले आरोप लगाएका हुन्।

विश्वकर्माले विभिन्न समस्या लिएर पुगेका सर्वसाधारणलाई भक्त बनाउने, उनीहरूमा विभिन्न देवीदेवता उतारिदिने, देवीदेवतासँग भेट गराउनेलगायत बहानामा ठगी गर्ने गरेको उनीहरूको भनाइ छ। पीडितहरूले बुधबार धरानमा पत्रकार सम्मेलन गरेर विश्वकर्मा र सेवा केन्द्रका पदाधिकारीले सर्वसाधारणलाई भ्रममा पारेर ठगी गरिरहेको बताएका हुन्। ठगीबारे प्रहरी र सुनसरीको जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी दिइएको तर प्रभावमा परेर कारबाही नगरिएको भन्दै उनीहरूले गुनासो गरेका छन्।

धरान–८ का सीताराम मल्लले राति कोसी नदीमा लगेर विभिन्न देवीदेवता उत्पन्न गरेर देखाइदिएका कारण सुरुमा आफू पनि भक्त भएको तर नौ महिनायता भने शंका लागेर गोप्य रूपमा अनुसन्धान गर्दै जाँदा विश्वकर्माले आफ्नै भाइ, भतिजालगायत प्रयोग गरेको थाहा पाएपछि विश्वास गर्न छाडेको बताए। मल्लका अनुसार विश्वकर्माले आफू सृष्टिकर्ता, विश्व ब्रह्माण्ड हुँ भन्ने गरेको र आफ्ना नयाँ भक्तजनलाई कोसी नदीमा लगेर देवलोकबाट आएका विभिन्न भगवान्सँग भेट गराइदिने भनेर भ्रम छर्ने गरेका छन्।

वास्तवमा कोसी नदीबाट निस्कने विभिन्न भगवान् भनिएकाहरू विश्वकर्माका आफन्त, उनीसँग मिलेका व्यक्तिहरूले किनेका मानिसहरू हुने गरेको आफूहरूले पत्ता लगाएको उनले बताए। ‘कोसीमा राति लैजान्थ्यो, चामल छर्किदिन्थ्यो, अगाडि नजानू भनेर टाढैबाट देखाउँथ्यो, देवीदेवता पनि निकाल्थ्यो। हामीलाई खुसी लाग्थ्यो,’ उनले भने, ‘पछि थाहा भयो, ती सबै उसका भाइभतिजा, आफन्त रहेछन्। हामीलाई देखाउन समय मिलाएर उनीहरू खोलामा पहिल्यै पठाइँदा रहेछन्।’

आत्मा शुद्धि गर्न भनेर भक्तजनसँग सुरुमा ५ हजार रूपैयाँ लिने गरेको, पछि २० देखि ३० हजार रूपैयाँसम्म उठाएर ठगी गरिरहेको पीडितहरूले बताए। विश्वकर्माले देवलोक घुम्न जाने भन्दै सुन, चाँदी र पैसा उठाएर तीन महिना पुख्र्याैली घर भोजपुरमा गएर बसेको पनि आफूहरूले पत्ता लगाएको अर्का पीडित पटेल सिंहले जानकारी दिए। ‘देवीदेवताका नाममा पैसा लुट्ने काम भइरहेको छ, देवलोकका लागि सुन र पैसा चढाउनुपर्ने भन्दै ठगी गरिरहेको छ,’ उनले भने, ‘हामीलाई खोलामा लगेर कृष्ण, ब्रह्मा, राम निकालेर देखाउँथ्यो तर मान्छे पहिल्यै तयार पारेको हुँदो रहेछ।’ पत्नी बिरामी भएपछि उपचार गर्न गएको तर अझै निको नभएको उनले बताए।

अर्का पीडित शान्ति लामिछानेले आफू पनि बिरामी भएर जाँदा आफ्नो शरीरमा सरस्वतीको रहेको भन्दै विश्वास दिलाएको बताइन्। राति कोसीमा लगेर मसान देखाएको भन्दै उनले विश्वासमा परेर आमाको गरगहनासमेत बेचेर एक कट्ठा जग्गा पनि किनिदिएको बताइन्। ‘मेरो श्रीमान्को मृत्यु नजिक आयो भनेर डर देखायो र आयु गाँस्नुपर्छ भनेर सुन, चाँदी र पैसा माग्यो,’ उनले भनिन्, ‘मैले पनि विश्वासमा दिएँ र श्रीमान्को आयु ७८ वर्षसम्मको गाँसिदिएको छ भन्यो तर पछि थाहा भयो त्यो ठगी रहेछ।’ अर्का पीडित धनबहादुर दियालीले पनि विश्वकर्माले ठगिरहेको आरोप लगाए। ‘सुन, पैसा नदिए शिवजी खुसी हुँदैनन्, तिमीहरू मर्छौं’ भनेर तर्साएर ठगी गरेको बताए।

पीडितहरूका अनुसार देशका विभिन्न ठाउँका सर्वसाधारणलाई अनेक भ्रममा पारेर उठाइएको रकमले सामाजिक काममा नभई परिवारलाई घरजग्गा खरिद गर्ने गरिएको छ। यसरी ठगी गर्नेमा विश्वकर्मा एक्ला भने होइनन्, ज्योतिष शिव सेवा केन्द्रका पदाधिकारीहरू पनि संलग्न रहेको पीडितहरूको भनाइ छ। ठगीबारे प्रहरीमा उजुरी दिए पनि प्रहरीले कारबाही नगरेको पीडितहरूले बताए। जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी लिएर जाँदा स्थानीय तहलाई नै छानबिन गर्न पठाएको पीडित मल्लले बताए।

यो विषयमा सम्पर्क गर्दा आरोपित विश्वकर्माले फोन उठाएनन्। केन्द्रका सचिव भूपेन्द्र खतिवडाले भने विश्वकर्मालाई आफूहरूले ईश्वरका रूपमा मानेको र उनले कसैलाई ठगी नगरेको बताए। ‘उहाँलाई हामीले ईश्वरका रूपमा मानेका छौ, उहाँमा दैवीशक्ति छ र ईश्वरले गर्न सक्ने सबै काम गर्न सक्नुहुन्छ,’ खतिवडाले भने, ‘उहाँलाई ठगी गर्‍यो भन्नेहरू नै ठग हुन्। जोसजाँगर भइरहँदासम्म हुँदैन तर जब चित्त बुझ्दैन तब ठगी हुन्छ।’

प्रकाशित: २३ पुस २०७८ ०४:२२ शुक्रबार

काठमाडौं उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालय दैवी शक्ति ठगी गरेको आरोप