शिक्षक सम्बद्ध आठ वटा संगठनले संयुक्तरुपमा एक सूत्रीय माग राख्दै आइतबारबाट तीन दिनका लागि जिल्लाभरिका विद्यालय बन्द गराएको जारी विज्ञप्तीमा उल्लेख छ।
नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मनोजकुमार यादवका अनुसार संघका सचिव शिक्षक करुण यादवसहित तीन शिक्षकमाथि इलाका प्रहरी कार्यलय लहानमा दर्ता भएको मुद्दा खारेज हुनुपर्छ। मंगलबारसम्म पनि मुद्दा खारेज नभए विद्यालय अनिश्चितकालका लागि बन्द गराउने यादवले बताए।
विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेकाले कुनै पनि बहानामा बन्द गर्न गराउन नहुने व्यवस्थालाई शिक्षकहरुले नै लत्याउन मिल्छ भन्ने प्रश्नमा यादवले भने, 'हाम्रा शिक्षकमाथि लगाइएको झुठा मुद्दा खारेज गर्न गरिएको आग्रह नमान्दा बाध्य भइ विद्यालय बन्द गराउनुपरेको हो।'
यसअघि मंगलबार उक्त विद्यालयका शिक्षक चन्देश्वर यादव, रेशमलाल साहसहितका शिक्षकहरुको अगुवाइङ्गा स्कुले विद्यार्थीलाई तीन किलोमिटर उत्तर इलाका प्रहरी कार्यालय लहान अगाडिको सडकमा प्रदर्शन गर्न लगाएका थिए। शिक्षकहरुले कक्षा एकदेखि १० सम्मका विद्यार्थीलाई जबर्जस्ती हातमा प्लेकार्ड दिएर जुलुस नारा लगाउन लगाएको सहभागी विद्यार्थीहरुले बताए।
यस विद्यालयका स्थायी शिक्षकहरु नियमविपरित अन्यत्र विद्यालय, कलेजमा पढाउने र यस विद्यालयमा समय नदिने कार्य रोक्न चौधरी नेतृत्वको नवनिर्वाचित व्यवस्थापनले सक्रियता देखाएपछि ती शिक्षकहरु चौधरीविरुद्ध खनिएका हुन्।
निमित प्रअ नारायण साहसहितका शिक्षकहरु शिक्षक संघका सचिव करुण यादवलाई गुहारेपछि यादवले फोनमार्फत् शिक्षकहरुलाई अप्ठ्यारो भए ज्यान मारिदिने धम्की दिएको चौधरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेको छ।
उक्त जाहेरीमा निमित प्रअ नारायण साह, शिक्षक विहारी साह र करुण यादवलाई विपक्षी बनाइएको इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर सन्तोय निरौलाले बताए।
जिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालले विद्यालयको विवाद सुल्झाउने प्रयास भइरहेको बताए। प्रहरीले मुद्दा दर्ता गरिदिएपछि शिक्षक साथीहरु समझदारी गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रेको कटुवाल बताए।
प्रकाशित: ६ पुस २०७१ ००:५८ आइतबार