समाज

राप्तीखोलाले बगाएका ७० वर्षीय वृद्ध मृत फेला

फाइल तस्बिर

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित राप्तीखोलाले बगाएका एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।

मंगलबार बिहान करिब ७:१० बजे राप्तीखोलाले एक व्यक्तिलाई बगाएर तलतर्फ लैजाँदै गरेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरीले खोजी गर्ने क्रममा मकवानपुरको मनहरी गाउँपालिका–४ मसिने निवासी करिब ७० वर्षीय बलबहादुर रुम्बाको शव बस्तीपुर पुलबाट करिब ५०० मिटर तल राप्तीखोलाको बीच भागमा काठ र ढुंगाको बीचमा अल्झिएको अवस्थामा बिहान ७:४५ बजे फेला पारेको हो।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक उमाशंकर प्रसादको कमाण्डमा टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।

बिहान १० बजे घटनास्थल मुचुल्का कार्य सम्पन्न भएपछि रुम्बाको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०८३ ११:२३ मंगलबार