समाज

तीनमुखे झोलुङ्गे पुलको शिलान्यास

गुल्मी— गुल्मी. पाल्पा र स्याङ्जा जोड्नेगरी देशमै पहिलो पटक रिडीमा तीन मुखे झलुङ्गे पुल (ट्रीज)को सिलन्यास गरिएको छ। गुल्मी, पाल्पा र स्याङजालाई जोड्ने गरी निर्माण सुरू भएको उक्त पुलेको सभासद चन्द्र भण्डारी र मुख्य सचिव लिलामणी पौडेलले सोमबार संयुक्त रूपमा सिलन्यास गरे। असार १० गते सम्झौता भई तीन बर्ष भीत्रमा निर्माण सम्पन्न गर्ने गरी स्थानीय पूर्वावाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले निर्माणका लागि ठेक्का प्रदान गरेको छ।९ करोड ८८ लाख २६ हजार ३ सय ३२ कूल लागतमा बन्न लागेको पूल निर्माणको जिम्मा नयाँबाटो – रुबिना – मना जेबिले निर्माणको जिम्मा पाएका छन्। तीन वटा कम्पनीहरुले संयुक्त रुपमा उक्त पुल निर्माणको जिम्मा पाएका हुन्।

कूल ५ सय ४० मिटर लम्बाई रहने पुलका प्रत्येक तीन वटा लठ्ठाहरूको लम्बाई १ सय ८० हुने निर्माण ब्यवसायी महेन्द्र अधिकारीले बताए। उनले कालीगण्डकी नदीको बीचमा झण्डै सात मिटर गोलाई भएको पिल्लर रहने बताउँदै पुललाई सकेसम्म आकर्षक बनाउने तयारी बताएको बताए । 'पुललाई सके सम्म आकर्षक बनाउने तयारी भएको छ,' उनले भने, 'रातीमा पनि पुलमा बत्ती बल्ने गरि पुल बनाउने बारेमा पनि छलफल भएको छ।' उनले पुल बनेसँगै पुलको एउटा मुखबाट पस्ने मान्छे जुन जिल्लामा जान चाह्यो त्यहि जिल्लामा जान सक्ने बताए।

मुख्य सचिव पौडेल र सभासद भण्डारीको पहलमा पुल निर्माण हुन लागेको हो। संयुक्त रूपमा पुल सिलन्यास गर्दै पौडेल र भण्डारीले तीन जिल्लाका मान्छेहरुलाई सहज तरिकाले जोड्नका लागि यस्तो पुलको परिकल्पना गरेको बताए। 'अहिलेसम्म तीन जिल्लाका संगममा तीन जिल्लाका मान्छेहरु भेट भएका छैनन्' पौडेलले भने, 'वर्षा याममा गुल्मी र पाल्पाका मात्रै जोखिमपूर्ण फड्के तर्छन् त्यसैले मैले यस्तो परिकल्पान गरेको हुँ।'

पौडेलले पुलको तल नदी थुनेर सानो ताल बनाउने बारेमा पनि आफूले सोचिरहेको बताएका छन् ।

'यो पुलले रिडीको धार्मिक महिमालाई अझ बढी माथी उठाउने छ', उनले भने, 'तोकिएको समय भन्दा छिटोनै यो पुल निर्माण भएमा सारा गुल्मेलीहरू खुसी हुने छन् ।' नेपालमै नुमनाको रूपमा रिडिमा तीन मुखे झलुङे पुल बन्न थालेकाले सारा गुल्मेलीहरू खुसी भएको उनले बताए। पुल बनेसँगै गुल्मी, पाल्पा र स्याङजाका स्थानीयहरू सहजताका साथ एकै ठाउँमा जोडिने छन् । पुलका तीन वटै मुख मोटरबाटोको नजिकै रहने निर्माण ब्यवसायी अधिकारीले बताए।

पुल सिलन्यासको अवसरमा डोलिडारका महानिर्देशक जीवन कुमार श्रेष्ठले यो पुल निर्माणको लागि आफूहरूले जसरी भएपनि बजेटको ब्यवस्था गर्ने बताएका छन् । सरकारले अति महत्वपूर्ण स्थानमा पुल निर्माण गर्न लागेकोले उनले यो निर्माण कार्यलाई बीच बाटोमै नछाड्ने समेत बताए ।

प्रकाशित: १५ मंसिर २०७१ ०३:०७ सोमबार