समाज

भारतीय सीमा सुरक्षा बलद्वारा नेपाली महिला असुरक्षित

कोहलपुर—नेपाल–भारत दशगजा क्षेत्रमा रहेका नेपाली बस्तीमा आएर भारतीय शसस्त्र सीमा सुरक्षा बल (एसएसबी) का जवानहरुले युवती र महिलालाई शारीरिक सम्पर्क राख्न दवाव दिने गरेका छन्। सिमावर्ती क्षेत्रमा पाँच किलोमिटरको फरकमा रहेका एसएसबी क्याम्पका सुरक्षाकर्मी नेपाली बस्तीमा पुगेर महिलाहरुलाई सताउने गरेका हुन्।सिमा क्षेत्रमा दैनिक निगरानी राख्ने एसएसबीले नेपालीबस्तीमा नयाँ र उमेर पुगेका युवती, महिला देख्नसाथ खोज्दै आउने गर्छन्। उनीहरुले सीमा बस्तीका महिलाहरुसँग शारीरिक सम्पर्कका लागि दवाव दिनेसम्मको हर्कत गर्ने गरेको सीमा क्षेत्र नेपाली बताउँछन् । उनीहरुले भनेअनुसार नमाने भारतीय बजारमा किनमेलमा जाँदा दुर्व्यवहार गर्ने गर्छन्। होलिया–५ का राजकुमार शुक्लाले खडैचा नजिक रहेको एसएसबी क्याम्पका जवानहरु यौन कार्यकै लागि गाउँमा पस्ने गरेको बताए। 'उमेर पुगेका युवती र महिलाहरु देख्नुहुँदैन्, उनीहरु सोधीखोजी गर्दै गाउँमा पुग्छन्,' उनले भने, 'सीमा वारपार गर्ने युवती, महिलाको निगरानी गर्दै ठेगाना, नाम सबै जानकारी लिन्छन्, विस्तारै यौन सम्पर्कका लागि दवाब दिन्छन्।' एसएसबीबाट नेपाली महिला र युवती असुरक्षित बन्दै गएको उनले बताए।

एसएसबीका कारण सिमा क्षेत्रका महिलाहरुमा विकृति सुरु भएको स्थानीयको बुझाइ छ। उनीहरुले भनेअनुसार काम नगरे सिमा वारपारमा बन्देजसम्म लगाउने गरेको पाइएको छ। सिमाक्षेत्रका स्थानीय अनुसार एसएसबीका जवानहरु पुरुषभन्दा नेपाली युवतीसँग नजिक र घुलमिल गर्छन्। फत्तेपुर–१ का रामविलास हरिजनले भारतीय जमुना बजारबाट युवती र महिलाहरु पछ्याउँदै एसएसबी गाउँमा पस्ने गरेको बताए। 'सिमामा पुरुषभन्दा महिला, युवतीलाई कडाई र निगरानी बढाउँछन्,' उनले भने, 'उनीहरुले भनेअनुसार नमाने आँफैलाई समस्या आईपर्छ।' सीमा क्षेत्रमा भारतीय एसएसबीका कारण यौन व्यापार समेत फस्टाएको छ। उनीहरुले आर्थिक प्रलोभन र दवाब दिएर सिमा क्षेत्रका महिला र युवतीलाई यौन कार्यमा संग्लन गराउने गरेका छन्। महिला र युवतीहरुले उनीहरुले भनेअनुसार नमाने परिवारलाई समेत सिमामा कडाई र तनाब दिने गरेको होलियाका शुक्लाले बताए।

एसएसबीसँगको सम्पर्कका कारण उनीहरुले रकम दिने र भारतबाट निर्वाध सामान ल्याउने, किनमेल गर्ने अवसर पाउँछन्। नेपाली महिला र युवतीबाटै एसएसबीले नेपाली दुरसञ्चार कम्पनीका मोबाईल सिम पाउने र गाउँको सुराकी थाहा पाउने शुक्लाले बताए। भारतीय सिमानासँग जोडिएका हिरमिनिया, होलिया, फत्तेपुर, गंगापुर, मटैहिया, कालाफाँटा गाविसका सिमावर्ती बस्तीमा एसएसबीबाट महिला र युवती बढी असुरक्षित भएका हुन्।

हिरमिनिया– १ का निरन्जन सोडी सिमाक्षेत्रमा यौनधन्दा फस्टाएको बताउँछन्। 'एसएसबी पैसा खर्च गर्न तयार हुन्छन्, नेपाली युवतीहरु पैसा कमाउन उनीहरु खोज्दै जान्छन्,' उनले भने, 'यो यौन धन्दा जस्तै चलेको छ।' हिरमिनियाको मुन्सीपुरुवा, अहरापुर र कालाबन्जारामा एसएसबीको क्याम्प रहेको छ। एकपटक चिनजान र सम्पर्कपछि एसएसबीले आवश्यकता अनुसार फोनबाटै क्याम्प र भारतीय बजारमा नेपाली युवती र महिलाहरु बोलाउने, घुमाउने गरेका स्थानीय बताउँछन्।

सीमा क्षेत्रबाट किनमेलका लागि भारतीय बजार पुग्नुपर्ने बाध्यताले एसएसबीको ज्यादतीविरुद्ध स्थानीय आवाज उठाउन डराउँछन् । भारतीय सिमासँग जोडिएको मटैहिया गाविस सचिव महोमद स्माईल खाँले जमुनाह बजारबाट एसएसबी नेपालभित्र आवगमन गर्ने गरेको बताए। आवतजावत गर्ने गरेका भएपनि यौनकार्यका लागि आएको बारे गुनासो नआएको बताए। एसएसबीविरुद्ध आवाज उठाए आँफै खतरामा पर्नेदेखि रोजीरोटी गुम्नेसम्मको डर स्थानीयमा छ।

स्थानीयका अनुसार केहीबर्ष यता एसएसबी रहेका सिमा क्षेत्रका भारतीय बजार र नेपालीबस्तीमा अवैध यौनधन्दा मौलाउँदै गएको छ। जिल्लाको नेपालगन्ज–रुपैडिहा बाहेक अन्य छोटी भन्सार र नाकामा नेपाली सुरक्षाकर्मीको उपस्थिति छैन्। छोटी भन्सार र नाका नजिक नेपाल प्रहरी र सशस्त्र प्रहरी चौकी रहेपनि गस्ती र कडाई हुने गरेको छैन।

प्रकाशित: १० मंसिर २०७१ ०६:१० बुधबार