मधेसका देहातमा ‘दियाबातीले चिनिन्छ उज्यालो पर्व तिहार। कोरोनाको केही मत्थर भएसँगै तिहारमा मधेसको माहोल उल्लासमय बनेको छ। मधेसमा तिहार पहिलो दिन दियाबाती (दीपावली), दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरदुतिया (भ्रातृद्वितीया) गरी तीन दिनसम्म मनाइन्छ।
असत्यविरुद्ध सत्यको, अन्धकारविरुद्ध प्रकाशको, निराशाविरुद्ध आशाको पर्वले मधेसी समाजलाई छपक्कै छोपेको छ। रावणको बध गरी भगवान् राम अयोध्या फर्केर राज्याभिषेक गरेपछि मनाइएको उत्सवका दिनलाई दीपावलीका रूपमा मनाउन थालिएको किंवदन्ती मधेसी समुदायमा छ।
मधेसमा दुई साताअगाडिदेखि नै दियाबाती पर्वको तयारी गरिन्छ। घरआँगन सरसफाइ र लिपपोत गरी परम्परागत रङले भित्तामा मिथिला चित्र बनाइन्छ। मधेसका दूरदेहातका आँगनमा माटो घोलेर थरीथरीका मौलिक रंगोली बनाइन्छ। दियाबातीको मुख्य दिन शाकाहारी परिकार तयार गरिन्छ। ‘धनतेरस दिनदेखि शाकाहारी विधिले पूजापाठ गर्छौं,’ लहानकी गृहिणी ३० वर्षीया सुनिती यादवले भनिन्, ‘यस अवधिमा दैनिक पूजाआजा चलिराख्छ।’ मुलुकको अन्य भागमा जस्तै यहाँ पनि गाईलाई लक्ष्मी मानेर अगाध आस्थाका साथ पुजिन्छ। लक्ष्मीपूजाको दिन गाईको गोबरले लिपेर आँगन पवित्र बनाइन्छ।
दियाबाती (दीपावली) का दिन बिहानै गाईको गोबरमा माटो मिसाएर घरआँगन लिपेर चोख्याउने गरिन्छ। साँझ पर्न लाग्दा माटोको दियो र अन्य बिजुली बत्ती बालेर घरहरु झकिझकाउ गरिन्छ। दियाबातीकै रात परिवारका सदस्य कपडाको पोकोमा तारले बेरेर बनाइएको उक बालेर ‘उकालोली’ खेलिन्छ। घरको मूल पुरुषले सनको सन्ठी र खर मिसाएर बनाइएको उक बालेर लक्ष्मी भित्र्याउँछन् जसलाई उक फेर्नु भनिन्छ। रातको अन्तिम प्रहरमा घरको मूल महिलाले नाङ्लो बजाएर धनकी देवी लक्ष्मी आह्वान गर्ने चलन पनि छ।
दोस्रो दिन अर्थात् गोबद्र्धन पूजाका दिन गाईवस्तुलाई सिँगारेर मीठो खानेकुरा खुवाइन्छ। यस दिन गाई वस्तुको सिङ रंग्याउने, घाँटीमा गरदामी लगाइदिने र गाईवस्तुको राइस (दाम्लो) फेर्ने चलन छ। दिउँसोतिर गाउँभरिबाट बलियो भैंसी छानेर हुराहुरीमा जुधाउने चलन छ। संँगुरको कलिलो बच्चालाई बाँधेर ढोल बजाउँदै भैंसीबाट मार्न लगाउने खेललाई हुराहुरी भनिन्छ।
तेस्रो दिन भरदुतिया (भ्रातृद्वितीया) उल्लासपूर्वक मनाइन्छ। यस पर्वलाई भाइ दुज, भरदुतिया, भ्रातृद्वितीया, भाइटीकाका नामले मनाइन्छ। दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरंगी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडालगायतका उपहार दिन्छन्। यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहितका सनेस) लिएर पुग्ने चलन अझै मधेसको ग्रामीण भेगमा कायमै छ। भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन्। आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मिथिला चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ।
दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिइएको पिर्कामा बसाउँछन्। त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, ओखर, फलफूल राखिदिन्छन्। अनि पानी चुहाउँदै परिक्रमा गर्छन् जसलाई न्यौत (निमन्त्रण दिनु) भनिन्छ। त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार रुपैयाँ, गरगहना, लुगा सनेस (उपहार) दिने चलन छ।
संस्कृतिविद् उमेशकुमार झा भन्छन्, ‘यस क्षेत्रमा कसैले तिहार, कसैले दियाबाती कसैले दीपावली भनेर उही पर्वलाई अलगअलग नामले मनाउँछन्। धनकी देवी लक्ष्मी आगमन हुने विश्वासका साथ लक्ष्मी पूजा मनाइन्छ।’ दीपावलीलाई विजयोत्सवका रूपमा मनाउन थालिएको किंवदन्ती रहेको झाले बताए। घर लिपेर लक्ष्मीको स्वागत
लक्ष्मीपूजा नजिकिएसँगै मधेसमा घर सिंगार्ने क्रम सुरु हुन्छ। पक्की घर हुनेले रङरोगन गर्छन्। कच्ची घर भएकाहरू माटोले बनाइएको घरको टाटी (भित्ता) माटोले लिपपोत गरेर चिटिक्क पारिएका छन्। मधेसका ग्रामीण तथा सहरी भेगका कच्ची र पक्की घरलाई सिंगारिएको छ।
कच्ची घर हुनेहरुले माटोलाई जम्मा गरी रातभरि पानी हालेर गिलो बनाइन्छ। त्यसमा धानको भुस हालेर खुट्टाले कुल्चेर लेदो बनाइन्छ। त्यसपछि गोबर मिसाएर भत्केको टाटी मर्मत गरिन्छ। टाटी सुकेपछि चिप्लो माटो घोलेर कपडाले लिपिन्छ। सफा र पवित्र घरमा लक्ष्मीको बास हुने सिरहाको धनगढीमाई नगरपालिका –१२ सिमलटोकी गाउँकि पुनम महतो बताउँछिन्।
प्रकाशित: १८ कार्तिक २०७८ १२:१४ बिहीबार