पुनर्योगको नतिजा ढिलाइले विद्यार्थी विदेशमा भर्ना भई पढ्न गएको भए पनि फर्कनुपर्ने अवस्था छ। अर्कातर्फ स्वदेशमा समेत विभिन्न विश्वविद्यालयमा भर्ना भइसके पनि नम्बर कम आएका कारण पढाइबाट बन्चित हुनुपर्ने स्थिति रहेको विद्यार्थीको गुनासो छ। भक्तपुरका मनिस पौडेलले कक्षा १२ मा कम नम्बर आएका कारण काठमाडौं विश्वविद्यालयमा बिबिएसमा भर्ना भएर दुई साता कक्षामा अध्ययन गरेर फर्कनुपरेको गुनासो गरे। परिषदमा पुनर्योगका लागि निवेदन दिन आएका पौडेलले कक्षा १२ को नतिजामा भौतिकशास्त्र र गणितमा अपेक्षा गरेभन्दा नम्बर कम भएका कारण पढाइ छाडेर फर्कनुपरेको सुनाए। ‘कक्षा ११ मा ६९ प्रतिशत ल्याएर पास भएको थिएँ,' मनिसले नागरिकसँग भने, ‘तर कक्षा १२ मा ४८ प्रतिशत मात्र आयो। सबैभन्दा राम्रो गणितमा भएको थियो तर निकै कम नम्बर आयो।' भौतिकशास्त्रमा प्राप्त अंक पनि उनलाई चित्त बुझेको छैन।
कक्षा १२ को नतिजामा राम्रा विद्यार्थीको समेत अंक चित्तबुझ्दो आएको छैन। यस वर्ष परिषदमा विज्ञान संकायतर्फ भौतिकशास्त्र, अंग्रेजी, गणित र रसायनशास्त्रमा चित्त नबुझेर पुनर्योगका लागि निवेदन दिनेको भीड बढेको परिषदले जनाएको छ। तर पुनर्योगको नतिजा २ महिनापछि मात्र आउने थाहा पाएपछि विद्यार्थी निरास छन्।
गोंगबुका सचिन थापा बुधबार परिषदमा अंग्रेजी र भौतिकशास्त्रमा प्राप्त गरेको अंक चित्त नबुझेपछि पुनर्योगको निवेदन दिन आएको भेटिए। उनको भौतिकशास्त्रमा ६७ र अंग्रेजीमा ६४ नम्बर छ। उनले दुवै विषयमा ८० नम्बरभन्दा माथि अपेक्षा गरेका थिए। कक्षा ११ मा ७८ प्रतिशत ल्याएर विशिष्ट श्रेणीमा पास गरेका उनले अस्ट्रेलियन विश्वविद्यालयमा आइटी अध्ययन गर्न भनी सबै कागजात ठीक पारिसकेका थिए।
‘कक्षा १२ मा मेरो ७१ प्रतिशत मात्र आएको छ। प्रथम श्रेणीलाई अस्ट्रेलियामा उच्च शिक्षामा कुनै सुविधा छैन,' उनले थपे, ‘तर नतिजा २ महिनापछि आयो भने हाम्रो भविष्य चौपट हुन्छ।'
सुदिप ठाकुर शर्माले तीन विषय रसायनशास्त्र, भौतिकशास्त्र र गणितमा अंक चित्त नबुझेपछि ७ सय ५० तिरेर पुनर्योग फारम भरेको बताए। उनले उत्तरपुस्तिका पुनःचेकिङको समेत व्यवस्था हुनुपर्ने माग राखे। ‘विद्यार्थीको भविष्यको ख्याल राख्दै परिषदले पुनर्योगको निवेदन दिएको एक साताभित्र नतिजा प्रकाशन गर्नुपर्छ,' उनले भने, ‘हामीलाई उत्तरपुस्तिका हेर्न पनि दिनुपर्छ।' सुदीपको इन्जिनियरिङका लागि विदेश जाने तयारी भए पनि पुनर्योगको नतिजा ढिलाइले अलमल हुने छाँट छ।
परीक्षा नियन्त्रक दुर्गा अर्यालले भने कर्मचारी कमीलाई दोष दिए। परिषदमा कर्मचारी दरबन्दी ३ सय २० रहेकोमा १ सय १७ मात्र स्थायी रहेको उनले जनाए। कक्षा ११ र १२ गरी ८ लाख विद्यार्थीको परीक्षाको काम १ सय १७ कर्मचारीले गर्नुपर्दा व्यवस्थापनमै चुनौती रहेको उनले सुनाए। परिषदको नियमअनुसार परीक्षाफल प्रकाशित भएको ३५ दिनसम्म पुनर्योगका लागि निवेदन माग गरिन्छ। अनि २ महिनाभित्र नतिजा प्रकाशन गर्ने प्रवृत्ति छ। ‘हामीले परीक्षाको काम गोप्य भएकाले स्थायीलाई मात्र विश्वास गरी काम लगाउँछौं,' अर्यालले नागरिकसँग भने, ‘काम गर्ने शैली पनि सूचना तथा प्रविधिमा आधारित आधुनिक छैन।'
परीक्षा उपनियन्त्रक जयन्ती सत्यालका अनुसार यस वर्ष विज्ञान संकायका कक्षा १२ मा ३६ हजार ७ सय २७ जना नियमिततर्फको परीक्षामा सहभागी थिए। जसमध्ये २५ हजार ८ सय ६६ पास भए। यो ७०.४३ प्रतिशत हो।
सत्यालका अनुसार परिषदमा दिनहुँ ३ सय हाराहारी पुनर्योग निवेदन पर्छ। बर्सेनि ६ हजार विद्यार्थीले पुनर्योगका लागि निवेदन दिने गरेका छन्। तर परिवर्तन भने १ प्रतिशत मात्र हुने उनले बताइन्। गत वर्ष ६ हजारले निवेदन दिएकोमा १ सयको मात्र नतिजा परिमार्जन भएको उनले बताइन्।
प्रकाशित: १८ भाद्र २०७१ १९:४४ बुधबार