बुधबार राति ९ बजेर ४५ मिनेटमा रुखलाई छानेर चिनो लगाउनका लागि यस्तो तयारी गरेको स्थानीय मोहन मानन्धरले बताए। इन्द्रजात्रा व्यवस्थापन समितिले अघिल्लो वर्षझैं यस वर्ष पनि इन्द्रजात्रा मनाउन तयारी सकिएको मंगलबार बताएको थियो। 'आज (बुधबार) राति पुगेर हामीले पूजाआजा गरेर लिंगो छनोट गर्नेछौं,' उनले भने, 'सो लिंगोलाई १७ गते नगर प्रवेश गराउँछौं।' नेपाल पञ्चाङ्ग निर्णायक समितिले २१ गते बिहान ७ बजेर ५३ मिनेटमा लिंगो उठाउने साइत जुराएको छ। साथै समितिले कुमारी जात्रा, गणेश रथयात्रा र भैरव यात्रा सकेर २७ गते लिंगो ढालेर जात्रा सम्पन्न हुने साइत जुराएको छ।
समितिका अनुसार बसन्तपुरस्थित कुमारी घरबाट चिंकमुगल, जैसीदेवल, ज्यावहाल, लगनखेल, ब्रह्मटोल, बण्डेटोल, जैसीदेवल, भीमसेनस्थन हुँदै पुनः कुमारीघर पुगेर २३ गतेको रथयात्रा सकिनेछ। त्यसैगरी २४ गते कुमारीघरबाट प्याफल, नरदेवी, असन, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै कुमारीघर पुगी यात्रा सकिनेछ। त्यसैगरी अन्तिम दिन २७ गते कुमारीघरबाट प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै कुमारीघर पुगेर यात्रा सकिनेछ। जात्रामा गणेश, जीवित कुमारी र भैरवको रथ पनि नगर परिक्रमा गरिन्छ। राजधानीको बसन्तपुर क्षेत्रमा रङरोघन र सजावट पनि तीब्ररुपले भैरहेको समितीका अध्यक्ष गौतम शाक्यले जानकारी दिए।
उनले जात्रा व्यवस्थापनमा आफूहरु तयार रहेको बताए। उनका अनुसार पुरातत्व विभाग, हनुमानढोका दरबार संग्रहालय, काठमाडौं महानगरपालिका, प्रहरी लगायतसँग जात्रा तयारीमा लागिसकेका छन्। इन्द्रजात्राको दुई दिनअघि हनुमानढोका दरबार क्षेत्रमा लिंगो उठाइने उनले जानकारी दिए।
प्रकाशित: ११ भाद्र २०७१ २२:२१ बुधबार