समाज

मकवानपुरमा बसको ठक्करबाट ६३ वर्षीया महिलाको मृ*त्यु

मकवानपुरको भीमफेदी गाउँपालिका–८ ईपादेउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

बिहीबार बिहान करिब ७:३० बजे ईपादेउराली–कोगटे–भीमफेदी–हेटौँडा भित्री सडकखण्डमा बसको ठक्करबाट स्थानीय ६३ वर्षीया लीलादेवी खत्रीको मृत्यु भएको हो।

प्रहरीका अनुसार ईपाबाट हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसमा सवार खत्री गाडीबाट झरेर बसको अगाडिबाट बाटो काट्ने क्रममा सोही बसले ठक्कर दिएको थियो। ठक्करबाट टाउकोमा चोट लागेकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदी र इलाका प्रहरी कार्यालय ठिङ्गनबाट ट्राफिकसहित २० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोली बिहान ८:५५ बजे घटनास्थल पुगेको थियो।

बस घटनास्थलमै रहेको र चालक भीमफेदी गाउँपालिका–७ कोगटे निवासी ४३ वर्षीय राजु आचार्य प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ।

घटनास्थल मुचुल्का तयार गर्ने कार्य सुरु गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०८३ ११:१५ बिहीबार