समाज

लहानबाट अस्थायी चालक अनुमतिपत्र वितरण

मंगलबार यातायात व्यवस्था कार्यालय लहानबाट लोपोन्नमुख समुदायका अरुण कुशाहारलाई क्यूआर कोर्डसहितको अस्थायी चालक अनुमतिपत्र वितरण गर्दै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल । तस्बिरः मिथिलेश/नागरिक

यातायात व्यवस्था कार्यालय लहानले मंगलबारबाट क्यूआर कोर्डसहितको अस्थायी सवारी चालक अनुमतिपत्र वितरण कार्य सुरु गरेको छ। यससँगै सवारी चालक अनुमति पत्रका लागि ट्रायल परीक्षा उत्तिर्ण गरी सेवाग्राहीले स्मार्ट लाइसेन्स कार्डको लागि एक वर्ष कुर्नुपर्ने बाध्यता अन्त्य भएको छ।

मंगलबार कार्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले प्रदेश २ अन्तर्गत रौतहट जिल्लाको लोपोन्नमुख समुदायका अरुण कुशाहारलाई अस्थायी सवारी चालक अनुमतिपत्र वितरण गरेर सुरुवात गरेका थिए।  

ट्रायल परीक्षा उत्तिर्ण गरेपनि स्मार्ट लाइसेन्स कार्ड आइपुग्न एक वर्षसम्म समय लाग्ने गरेको छ। त्यस अवधिसम्म यातायात कार्यालयले दिएको कागजी चिट बोकेर सेवाग्राही सवारी साधनहरु चलाउनु पर्ने बाध्यता थियो। अब यसको अन्त्य भएको यातायात कार्यालय लहानका निमित्त प्रमुख मिन भट्टराईले जानकारी दिए।

ट्रायल परीक्षा उत्तिर्ण भएका सेवाग्राहीहरुलाई एक हप्ताभित्र क्यूआर कोर्डसहितको अस्थायी चालक अनुमतिपत्र कार्यालयले प्रदान गर्ने कार्य सुरु भैसकेको भट्टराईले जानकारी दिए। यातायात व्यवस्था कार्यालय लहानबाट ट्रायल परीक्षण उत्तिर्ण गरेका कसैले पनि अब कागजी चिट बोकेर सवारी साधन चलाउनुनपर्ने उनले बताए।

देशभरीका यातायात कार्यालयको ३२ शाखामध्ये काठमाडौं, जनकपुर, महत्तोरीको बर्दिबास र सिरहाको लहानबाटमात्र अस्थायी चालक अनुमतिपत्र वितरण हुन थालेको यातायात कार्यालय लहानका नायव सुब्बा विजय दाहालले जानकारी दिए।

प्रकाशित: २९ भाद्र २०७८ १३:५६ मंगलबार