जुम्ला सदरमुकाम खलंगा आसपासका क्षेत्रमा उम्रिएको गाँजा सुरक्षाकर्मीले नष्ट गरेका छन्। नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले गाँजा नष्ट गरेको हो। यहाँको गाँजा प्राकृतिक रुपमै उम्रिने गरेको छ।
चन्दननाथ मन्दिरको सेला जीउलो, बसपार्क, भारतीबाडा, अस्पताललाइन र जुगाडखोला आसपासको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाई गाँजा नष्ट गर्न आफै पुगेकी थिइन्। गाँजा नष्ट गर्न सुरक्षाकर्मीसंगै स्थानीयले पनि साथ दिएका थिए।
यहाँको उम्रिएको गाँजा प्रयोग गरेर पछिल्लो पुस्ता बिग्रन थालेपछि यहाँका सम्भावित सबै ठाउँको गाँजा नष्ट पारीएको प्रहरी नायव उपरक्षक डिएसपी दानबहादुर थापाले जानकारी दिए।
गाँजा सेवनका कारण यहाँ विभिन्न प्रकारका अपराधिक क्रियाकलाप भइरहेका छन्। उनले भने,‘अब सबै क्षेत्रको गाँजा नष्ट गरिनेछ। ’ जुम्लामा गाँजा खेती गरिँदैन। तर प्राकृतिक रुपमा खेतबारीमा उम्रन्छ। यसको सेवनका कारण विकृतिजन्य क्रियाकलाप हुन्छन्। यो राम्रो पक्ष होइन। गाँजा नष्ट गर्न गाउँमा स्थापित प्रहरी चौकी र प्रहरी इकाइलाई निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
गाँजा नष्ट गर्ने कार्यमा प्रत्येक वडाका जनप्रतिनिधि सहभागी हुने छन्। राजनैतिक दलका प्रतिनिधिको सहभागिता रहनेछ। नागरिक समाज, सचेत नागरिक सबै संलग्न भएर गाँजा नष्ट गर्ने प्रहरीको योजना छ। गाँजा प्रयोग गर्ने कार्यलाइ निरुत्साहित गर्न जुम्ला प्रहरीले अभियान चलाएको छ।
प्रहरी नायव उपरीक्षक डिएसपी थापाले शनिबार मात्रै झण्डै ३ विघा क्षेत्रफलमा रहेको गाँजाको बोट नष्ट गरेको बताए। प्रहरीले गाँजा उम्रेको हुन सक्ने सम्भावित स्थानहरुको खोजी समेत गरेको छ। जुम्लामा गाँजा खेती गर्ने किसान छैनन्।
भदौ दोस्रो वा तेस्रो सातादेखि गाँजा परिपक्व हुन्छ। कारोबारीहरुले गाँजाको बोटबाट गाँजा उत्पादन गर्ने गर्दछन्। यस कारण गाँजा लागुऔषधको रुपमा प्रयोग हुने गरेको छ। त्यही भएर सुरक्षाकर्मीले भदौमा पहिलो सातामै गाँजा नष्ट गरेका हुन्।
राम्रोसँग फस्टाएको एउटा गाँजाको बोटबाट मात्रै आधा केजीदेखि एक केजीसम्म गाँजा उत्पादन गर्न सकिने बताइन्छ। यसरी उत्पादन भएको तयारी अवस्थाको गाँजा भारतीय बजारमा पुर्याउन सकेको अवस्थामा कारोबारीहरुले प्रति केजी ११ हजार भारतीय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइन्छ।
जुम्लाका खेतबारी, बाँझो जग्गामा पनि यो उम्रिने गर्छ। यसलाई यहाँको भाषामा भाँगो भनिन्छ। यसको पाता हातमा लगाएर गाँजा निकालिन्छ।
प्रकाशित: ६ भाद्र २०७८ ०७:५९ आइतबार



