समाज

आमाघरमा क्रिस्चियन धर्म अभ्यास : मानवअधिकार आयोग

काठमाडौं— दिलशोभा श्रेष्ठद्वारा सञ्चालित आमाघर बारे राष्ट्रिय मानवअधिकार आयोगले एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक प्रतिवेदनमा आमाघरमा विभिन्न धर्ममा आस्थावान वृद्धा र बालबालिका राखिए पनि उनीहरुलाई क्रस्चियन धर्मको मात्र अभ्यास गराउन लगाइएको उल्लेख छ।'विभिन्न घार्मिक पृष्ठभूमिका बालबालिका ल्याइए पनि क्रिस्चियन धर्मको पुस्तकमात्र पढाउने र प्रार्थना गराउने गरेको पाइयो', बिहीबार सार्वजनिक प्रतिवेदनमा भनिएको छ, 'प्रचलित कानुन विपरीत गई धर्म परिवर्तन गराउने मनसाय राखेको देखिन्छ।'

आमाघरलाई दाता दिएको सम्पत्ति दुरुपयोग हुने गरेको विषयलाई आयोगले गम्भीरतापूर्वक उठाएको छ। 'आर्थिक अनियमितता छुट्टै छानबिन गर्न छुट्टै समिति गठन गर्नुपर्ने देखिन्छ', आयोगको प्रतिवेदनमा छ। यसअघि प्रहरी अनुसन्धानले पनि बालगृह तथा आमाघरका नाममा आएका सहयोग सामग्री बेचबिखन गरेको र बालगृहका बालबालिकालाई बाहिर पठाउनेलगायत अन्य आरोप भने प्रहरी अनुसन्धानले पुष्टि गरेको थियो। आमाघरले दाताहरूलाई नगद सहयोगको आग्रहसहित बनाएको बोर्डमा विभिन्न बैंकका १० खाता नम्बर राखिएको थियो। विवादामा तानिएसँगै अधिकांश बैंकका खाता अहिले बन्द गरिएका छन्।

आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गैरकानुनी रुपमा आमाघरमा राखिएका बालबालिकाको अवस्था जोखिमपूर्ण देखिएको उल्लेख गरेको छ। 'बालबालिका राख्ने अनुमति लिइएको छैन, बालबालिका र वृद्धा जोखिमपूर्ण स्थितिमा देखियो', आयोगले भनेको छ। आमाघर को विधानमा बालबालिकालाई राख्ने व्यवस्था नभएको र जिल्ला बालकल्याण समितिबाट बालगृह सञ्चालन गर्ने कुनै पनि प्रकारको स्वीकृति नलिएको आयोगले जनाएको छ।

आमाघरमा आश्रित बालबालिकालाई घरेलु काम लगाउन अन्यत्र लगिएको पाइएकोले यस्ता बालिकालिकाको खोजी गरी पुनःस्थापना गर्नको लागि केन्द्रीय बाल कल्याण समिति तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पहल आयोगले सुझाव दिएको छ।

आमाघरकी एक वृद्धा हराएर कालिमाटीमा प्रहरीले उद्धार गरे पनि वृद्धाश्रम सञ्चालक उदासीन देखिएको आयोगले जनाएको छ। 'हराएकी वृद्धा प्रहरीले भेटे पनि आमाघरलाई सो जानकारी नभएको भेटियो', आयोगले भनेको छ। उद्धार गरिएका मध्ये २२ जना बालबालिकामा स्वास्थ्य समस्या देखिएको उसले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा 'आमाघरले अनुमति नै नलिई बालगृह सञ्चालन गरेको, संस्थाका नाममा आएको आर्थिक सहयोग अपचलन हुने गरेको, बालबालिकालाई अवैध रूपमा विदेश पठाउने गरेको' लगायत आमाघरको आवरणमा अनैतिक गतिविधि हुने गरेको भनी उजुरी परेको थियो। सो उजुरीका आधारमा केन्द्रीय बालकल्याण समिति, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरीको संयुक्त टोलीले आमाघरको अनुगमन थालेको थियो। अनुगमन क्रममा त्यहाँ आश्रित बालबालिका जोखिममा रहेको र अन्य आरोपबारे विस्तृत अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकाल्दै २०७० फागुन १४ गते प्रशासनले बालबालिकाको उद्धार गरेको थियो।

प्रकाशित: ८ जेष्ठ २०७१ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App