तनहुँको देवघाट गाउँपालिका–५ शिखरमा चट्याङ लागेर ६ वटा चौपायाको मृत्यु भएको छ। शुक्रबार राति परेको चट्याङका कारण स्थानीय ५५ वर्षीय भविलाल गुरुङको गोठमा रहेका गाई र बाख्रा मरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति करिब ९:३० बजेको समयमा गुरुङको गोठमा चट्याङ परेको थियो। चट्याङका कारण गोठभित्र बाँधिएका ४ वटा बोका, १ वटा खसी र १ वटा गाईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे भोलिपल्ट अर्थात् शनिबार बिहान ८:३० बजे इलाका प्रहरी कार्यालय देवघाटलाई जानकारी प्राप्त भएको थियो। खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल खटिएर वस्तुस्थिति संकलन गरेको थियो।
प्रहरीका अनुसार उक्त घटनामा चौपायाको क्षति भए पनि मानवीय र अन्य भौतिक संरचनामा भने कुनै क्षति पुगेको छैन । ‘चट्याङका कारण गोठमा रहेका पशुहरूको मृत्यु भएको छ, तर घर र गोठको संरचना तथा मानवीय हिसाबले सबै सुरक्षित रहेका छन्,’ प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: ६ असार २०८३ १३:१६ शनिबार