देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएका छन्।
धनुषा, धनौजी गाउँपालिका-२ गोरदाहास्थित सडकमा गोरदाहाबाट जनकपुरतर्फ जाँदै गरेको प्र.२-०२-००२ प ७७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका-१ बस्ने ४५ वर्षीया मन्जु देवी गुप्ताको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
चितवन, रत्ननगर नगरपालिका-४ देबौलीस्थित सडकमा ना.४ त ५५९४ नम्बरको ट्याक्टर र ना.५२ प ५०३८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५१ वर्षीय शान्त कुमार चौधरीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-२ चिसापानीस्थित सडकमा लु.प्र.०१-००१ ख ०६६५ नम्बरको बसलाई ना.५ ख १९०५ नम्बरको ट्रकले शनिबार बिहान ठक्कर दिँदा बसमा सवार नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका-६ बस्ने ३० वर्षीया नेहा गुरूङको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको चिसापानी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका बसमा सवार मध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि देवदह मेडिकल कलेज भलुही रूपन्देही पठाइएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रूकुम पश्चिम, आठविसकोट नगरपालिका-११ गत्तासैनास्थित सडकमा ग.१ त ५६१३ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने शसिराम परियारकी छोरी १८ महिनाकी एन्जिला परियारको मृत्यु भएको छ।
शुक्रबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि नेपालगंजमा थप उपचारको क्रममा गए राति मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बैतडी, दशरथचन्द नगरपालिका-४ साईलेकस्थित सडकमा धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ख ३६४६ नम्बरको बस अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा बसमा सवार सोही नगरपालिका-६ बस्ने ३५ वर्षीय विरेन्द्र बहादुर चन्दको मृत्यु भएको छ।
साथै दुर्घटनामा घाइते भएका बसमा सवार १ जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उदयपुर, उदयपुरगढी गाउँपालिका-७ जोगी टोलस्थित सडकमा महोत्तरीबाट सुनसरीतर्फ आउँदै गरेको बा.२ ख ६४३८ नम्बरको बस अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा बसमा सवार महोत्तरी बर्दिबास नगरपालिका-२ बस्ने ६५ वर्षीय विमलेश दत्तको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते भएका बसमा सवार मध्ये २ जनाको न्यूरो अस्पताल विराटनगरमा, २ जनाको प्राइम अस्पताल विराटनगरमा, २ जनाको शुभ स्वस्तिक अस्पताल बर्दिबास महोत्तरीमा र १ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ६ असार २०८३ १८:१२ शनिबार