पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २२९ जना घाइते भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी ७८ जना घाइते भएका छन्। त्यसैगरी मधेश प्रदेशमा ५३, गण्डकी प्रदेशमा २३, काठमाडौं उपत्यकामा १९, सुदूरपश्चिम प्रदेशमा १८, लुम्बिनी प्रदेशमा १७, बागमती प्रदेशमा १५ र कर्णाली प्रदेशमा ६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा गण्डकी र लुम्बिनी प्रदेशका दुई–दुई जना तथा काठमाडौं उपत्यका र सुदूरपश्चिम प्रदेशका एक–एक जना रहेका छन्। प्रहरीका अनुसार रुपन्देहीको मायादेवी गाउँपालिका–३ शुक्रौलीस्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ट्रलीभित्र अचानक लडेर गम्भीर घाइते भएका ३६ वर्षीय प्रेम सागर धोबीको उपचारका क्रममा मृत्यु भएको छ। लु २ त ४९२५ नम्बरको ट्र्याक्टरमा काम गर्ने धोबीलाई भीम अस्पताल भैरहवामा सामान्य उपचारपछि थप उपचारका लागि सिटी अस्पताल लगेपछि उनलाई उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नवलपरासीको सुनवल नगरपालिका–३ किर्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा लु ४० प २८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा पछाडि सवार रुपन्देहीको देवदह नगरपालिका–९ का करिब ४० वर्षीय सुवास सेनचुरीको मृत्यु भएको छ।
कास्कीको पोखरा महानगरपालिका–२९ आदर्शचोकमा ग २ ४ प १६३५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ५५ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ। गम्भीर घाइते भएका शर्माको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीस्थित राडखोला–बिरुवा सडकखण्डमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा बिरुवा गाउँपालिका–२ का करिब ३९ वर्षीय रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
कैलालीको कैलारी गाउँपालिका–३ भर्मीस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलले पछाडिबाट गोरुगाडालाई ठक्कर दिँदा मोटरसाइकल चालक १८ वर्षीय सुजन चौधरीको मृत्यु भएको छ।
त्यसैगरी, काभ्रेको महाभारत गाउँपालिका–८ घर्तीछापस्थित भित्री सडकखण्डमा बा प्र ०२–०५६ प ४७४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा ठोक्किँदा चालक २४ वर्षीय दिनेश पाख्रिनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित: ७ कार्तिक २०८३ १०:४९ शनिबार