तनहुँको शुक्लागण्डकी नगरपालिका-११ गोटपानीमा बिहीबार दिउँसो बलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
दुलेगौंडाबाट स्याङ्जाको चिसापानीतर्फ जाँदै गरेको ग १ ज ७४१० नम्बरको बलेरो जिप सडकबाट करिब ५० मिटर तल खसेको हो।
२०८३ कात्तिक २६ गते दिउँसो करिब ४:१५ बजे दुलेगौंडा-चिसापानी पक्की सडक खण्डमा उक्त दुर्घटना भएको हो।
जिपमा चालकसहित ७ जना सवार रहेकोमा ६ जना घाइते भएका छन् भने एक जना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको दुलेगौंडास्थित तनहुँ सेवा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा घाइते हुनेहरू सबै स्याङ्जाको हरिनास गाउँपालिका-१ खैरिकोटका स्थानीय बासिन्दा हुन्।
घाइते हुनेमा ३२ वर्षीय जिप चालक शिवबहादुर गुरुङ, २९ वर्षीय अमरबहादुर गुरुङ, ९४ वर्षीय रनबहादुर गुरुङ, ३९ वर्षीया निशा राना, ४८ वर्षीय चन्द्रबहादुर गुरुङ र ३४ वर्षीय मिलन गुरुङ रहेका छन्।
दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २६ कार्तिक २०८३ २१:१४ बिहीबार