समाज

नयाँ बस्तीबाट ६ हजार लिटर घरेलु मदिरा र कच्चा पदार्थ नष्ट

काठमाडौंको बौद्ध क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको अवैध घरेलु मदिरा र त्यसको कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ।

काठमाडौं महानगरपालिका-६ नयाँ बस्तीस्थित तामाङ गुम्बा क्षेत्रमा अवैध रूपमा मदिरा उत्पादन तथा बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले मंगलबार बिहान करिब ७ बजे छापा मारेको थियो।

खानतलासीका क्रममा प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग गरिने अन्दाजी ६ हजार लिटर कच्चा पदार्थ, करिब ७ सय लिटर तयारी घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिएका २४ थान ग्यास सिलिन्डर फेला पारेको हो।

बरामद गरिएका ६ हजार ७ सय लिटर कच्चा पदार्थ तथा तयारी मदिरालाई स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूको रोहबरमा सोही स्थानमा नष्ट गरिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका ग्यास सिलिन्डर भने प्रहरी वृत्त बौद्धमा राखिएको छ।

प्रकाशित: ७ आश्विन २०८३ १८:४० बुधबार