उनी दुई साताभन्दा बढी समयदेखि साधारण पर्यटक सरह मानसरोवर घुम्दैछन्। उनी सुविधासम्पन्न तारे या डिलक्स होटलमा होइन साधारण गेस्ट हाउसमा बस्ने गरेका छन्।
असोज तेस्रो साता नेपाल आइपुगेका उनी एक रात राजधानीको शोभा भगवतीनजिकको निर्वाण गेस्ट हाउसमा बसेका थिए। तिब्बतबाट सोमबार पुनः राजधानी आउन लागेका ससेल्स पुनः त्यही गेस्ट हाउसमा दुई रात बस्दैछन्।
नेपालका लागि अस्ट्रियाका अवैतनिक दूत लक्ष्मणबाबु श्रेष्ठका अनुसार उनी विलासीभन्दा सामान्य जनजीवन रुचाउँछन्। दसैंको लगत्तै नौ जनाको टोलीका साथ नेपाल आएका ससेल्स एक रात काठमाडौं बसेर भोलिपल्टै गाडीमा तातोपानी हुँदै तीन दिन लगाएर मानसरोवर गएका हुन्।
६४ वर्षीय ससेल्सले मानसरोवरमात्र घुमेनन् कि त्योभन्दा परको कैलाश पर्वतसमेत पूरै घुमे। उनको टोलीका एक सदस्य लेक लाग्नुका साथै पिसाब बन्द भएका कारण बीचैमा हेलिकप्टरबाट काठमाडौं फर्किए। उनको उपचार राजधानीको नर्भिक अस्पतालमा भयो। उनी सोमबार नै डिस्चार्ज भएका छन्।
'धेरैले घुम्ने हिम्मतै नगर्ने कैलाश पर्वत उहाँले घुम्नुभयो। उहाँको टोलीका एक सदस्य बिरामी भएर फर्किए। तर, उहाँले आफ्नो यात्रा पूरा गरेरै छाड्नुभयो' श्रेष्ठले नागरिकसित भने- 'उहाँ खासमा नेपाल हुँदै तिब्बत गएर मानसरोवर र कैलाश पर्वत घुम्न आउनुभएको हो।'
५ हजार ५ सय मिटरसम्मको उचाइ हुँदै ससेल्सले कैलाश पर्वतको पूरै फेरो लगाए। कैलाश पर्वत ६ हजार ७ सय मिटर अग्लो छ। उनी मानसरोवर र कैलास पर्वतमा दुई साता बसेर सोमबार काठमाडौं फर्कंदैछन्।
उनी सन् १९८९ देखि ११९५ सम्म अस्ट्रियाको अर्थमन्त्री, १९९५ देखि २००० सम्म भाइस चान्सलर तथा विदेशमन्त्री, फेब्रुअरी २००० देखि २००७ सम्म चान्सलर भएका थिए। 'ससेल्स अस्ट्रियामा लोकप्रिय नेता मानिन्छन्। उनी घुमफिर र ट्रेकिङमा विशेष रुचि राख्छन्'
अस्ट्रियाका लागि नेपालका पूर्व राजदूत तथा परराष्ट्रसचिव मदन भट्टराईले भने।
मानसरोवर र कैलास पर्वत घुमेर उनी मोटरबाटोबाटै तातोपानी हुँदै गाडीमा मंगलबार काठमाडौं आउँदैछन्। बुधबार बिहान उनी हेलिकप्टरबाट सगरमाथाको आधार शिविर र नाम्चे जानेछन्। त्यहाँ उनले सगरमाथा र वरपरको प्राकृतिक सौन्दर्य हेरी बेलुका राजधानी फर्केर निर्वाण गेस्ट हाउसमा नै बस्नेछन्।
श्रेष्ठका अनुसार पूर्व चान्सलरले बिहीबार बिहान ८ बजे प्रधानमन्त्री माधवकुमार नेपालसित शिष्टाचार भेट गर्ने कार्यक्रम छ। 'ससेल्स निजी भ्रमणमा आउनुभएको हो। नेपाल आउने क्रममा प्रधानमन्त्रीलाई भेट्ने इच्छा जाहेर गर्नुभयो। मैले कुरा गरेर भेटघाट मिलाइदिएको हुँ।'
तर, पूर्व चान्सलर ससेल्सको नेपाल भ्रमण र प्रधानमन्त्रीसित भेटवार्ताबारे परराष्ट्र मन्त्रालयलाई औपचारिक जानकारी छैन। 'हामीलाई कुनै जानकारी आएको छैन' परराष्ट्रका एक अधिकारीले भने। ससेल्स बिहीबार अपराह्न २ बजे आफ्नो टोलीका साथ भियना फर्कनेछन्। ससेल्सको नेपाल, चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर र कैलाश पर्वत भ्रमण पहिलो हो।
प्रकाशित: ८ कार्तिक २०६६ २१:५१ आइतबार