समाज

पहिरोले विस्थापित भएकालाई अजिरकोटमा नयाँ घर

पहिरोले घर भत्किएकालाई आर्थिक सहयोग गर्दै गोरखाको अजिरकोट गाउँपालिका अध्यक्ष फणिन्द्र धिताल । तस्विर : नागरिक

गोरखाको अजिरकोट गाउँपालिका–१ साउनेपानीकी आशमाया गुरुङको घर पहिरोले भत्कायो । भूकम्पपछि बलियो गरी बनाएको घर पहिरोले लगेपछि उनी नौ महिनासम्म अस्थायी टहरामा बसिन् । २०७७ असोजमा उनको घर पहिरोले लगेको थियो । अब नयाँ घर बनाउन सक्दिन होला भन्ने उनलाई लागेको थियो  । तर उनले अहिले पहिरो जानु अघिको जस्तै चिटिक्कको घर पाएकी छिन् । 

अजिरकोट गाउँपालिकाले पहिरो पीडित पाँच परिवारलाई गाउँपालिकाबाट प्रति घर तीन–तीन लाख रुपैयाँ दिएपछि सबैले नयाँ घर बनाउन पाएका छन् । सुख्खा पहिरोले घर बगाएपछि बिस्थापित भएका गणेश गुरुङ, सनमाया गुरुङ, लक्ष्मण गुरुङ र पूर्णबहादुर गुरुङलाई गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले तीन–तीन लाख रुपैयाँ सहयोग प्रदान गरेका हुन् । ‘घरबार विहीन भएका नागरिकलाई घर बनाउन आर्थिक सहयोग गर्ने योजना अनुसार रकम दिएका हौं,’ अध्यक्ष धितालले भने ‘घर नहुँदा टहरामा, छाप्रोमा, भत्किएको घरमा कष्टकर गुजारा चलाउनुपर्ने अवस्था थियो ।’  

गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा पाँच परिवारलाई नयाँ घर बनाउन १५ लाख रुपयाँ दिएको हो । ‘घर बनाउन पैसा दिएका हौं,’ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुरेश दवाडीले भने । पैसा पाएपछि नयाँ घर बनाउँदा लागेको ऋण तिर्न सहज हुने भन्दै लाभग्राही खुसी भएका छन् । गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका र पहिरोमा घरबार विहीन भएकालाई निरन्तर सहयोग गर्ने नीति लिएको उनले बताए । 

प्रकाशित: २ श्रावण २०७८ ०६:५८ शनिबार

गोरखा अजिरकोट गाउँपालिका